काठमाडौँ, भदौ ७ :

सरकारले हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ को थामे खोलामा आएको बाढी र क्षतिग्रस्त बस्ती क्षेत्रको विस्तृत अध्ययन गर्ने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार पत्रकार सम्मेलन गरि प्रभावित क्षेत्रको विस्तृत अध्ययनका लागि विज्ञ सहितको प्राविधिक टोली पठाउने तयारी भइरहेको जानकारी दिएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अध्ययन टोलीले घटनाको कारणसहित बाढीग्रस्त क्षेत्रमा बस्न मिल्ने हो वा बस्ती अन्तै सार्नु पर्ने भन्नेबारे पनि अध्ययन गर्ने जानकारी दिनुभयो ।

यही साउन ३२ गते आएको गेग्य्रान र ठूला ढुङ्गासहितको बाढीले थामेमा ठूलो क्षति भएको थियो । थामेका २४ घरसहित स्कुल, क्लिनिक लगायत बस्तीमा क्षति पुगेको छ ।

बाढीलगत्तै रक्षामन्त्री मानवीर राईको नेतृत्वमा विज्ञ सहितको टोलीले मुहान क्षेत्रमा हवाई निरीक्षण गरी प्रारम्भिक जानकारी लिएको थियो ।