ताप्लेजुङ, चैत १ :

ताप्लेजुङमा पछिल्लो समय होली पर्वको रौनक गाउँ-गाउँसम्मै फैलिन थालेको छ ।

लगभग १५ वर्षअघि यहाँ खासै होली खेल्ने चलन थिएन । मुख्य रूपमा तराई र केही सहरमा मात्र सीमित रहेको यो पर्व अहिले हिमाली क्षेत्रका गाउँहरूमा समेत धुमधामका साथ मनाउन थालिएको छ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका ५ का विक्रम माबोहाङका अनुसार ताप्लेजुङमा होलीको आगमन पछिल्लो दशकमा मात्र देखिन थालेको हो । बजार क्षेत्रहरूमा मात्र सीमित रहेको यो पर्व ग्रामीण बस्तीमा विस्तार हुन थालेको छ । यसलाई विकासको क्रमसँगै मानिसहरूमा उत्सवप्रतिको रुचि र चेतनाको विकासको हुदै गएको माबोहाङको भनाइ छ ।

यस वर्ष फक्ताङलुङ गाउँपालिका ६ स्थित बतासे गाउँमा पहिलोपटक सामूहिक रूपमा होली पर्व मनाइएको छ । स्थानीय बालबालिका र अभिभावकहरूको सक्रियतामा आयोजित यो कार्यक्रमले गाउँमा छुट्टै रौनक थपेको थियो । रङ, संगीत र नृत्यका माध्यमबाट बालबालिका, युवा र वृद्धहरू सामूहिक रूपमा सहभागी भएका थिए ।

स्थानीय विवश केदेमका अनुसार बालबालिकाको सक्रियताले गाउँमा होलीको नयाँ तरंग ल्याएको छ । ‘पहिले यहाँ होली खेल्ने चलन थिएन, तर अहिले बालबालिका र अभिभावकको चासोले यो पर्व मनाउन थालेका छौँ,’ केदेमले बताए ।

गाउँका वृद्धवृद्धा र अभिभावकले पनि होलीलाई आपसी सद्भाव बढाउने पर्वका रूपमा लिन थालेका छन् । केदेमले भने, ‘पहिला होली खेल्ने चलनमा थिएनौँ, तर अहिले बच्चाहरूको आग्रहमा सामूहिक रूपमा रङको पर्व मनाउन पाउँदा खुसी लागेको छ ।’ पछिल्लो समयमा ग्रामीण क्षेत्रहरुमा सूचना प्रविधिको विकासले होलीको महत्त्व र यसको सांस्कृतिक पक्ष बुझ्दै गएपछि ग्रामीण क्षेत्रमा यसको लोकप्रियता बढ्न थालेको हो ।

सदरमुकाम फुङलिङलगायत बजार क्षेत्रहरूमा भने होली पर्व मनाउने परम्परा केही वर्ष अघिदेखि चल्दै आएको हो । अहिले फुङ्लिङ बजार विभिन्न रङले रंगिएको छ । टोल-टोलका समूहहरु समूहिक रुपमा होली खेल्दै प्रचलनको विकास हुँदै गएको छ । चोक-चोकमा संस्कृतिक कार्यक्रमको आयोजना गरेर होली पर्व मनाउन थालेका छन् ।

ताप्लेजुङमा अहिले रंगको पर्वका रूपमा चिनिने होलीमा अहिले विभिन्न सांस्कृतिक कार्यक्रम, सांगीतिक प्रस्तुति र सामूहिक नृत्यहरू पनि देख्न पाइन्छ ।

रङ, नृत्य र गीतमार्फत सांस्कृतिक पर्वका रूपमा विकास हुँदै गएको होलीले ग्रामीण क्षेत्रमा लोकप्रिय बन्दै गएको छ । स्थानीय सरकारका प्रतिनिधिहरूले पनि होली पर्वको विस्तारलाई सकारात्मक रूपमा लिएका छन् । फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार सामूहिक पर्वका रूपमा होली मनाउन थालेपछि गाउँमा आपसी मित्रता, सद्भाव र मेलमिलाप बढेको छ ।

होली पर्वमा विशेषगरी बालबालिका र युवाहरूको सक्रियता बढी देखिन्छ । ग्रामीण क्षेत्रमा सामूहिक रूपमा पर्व मनाउँदा बालबालिकाहरूमा समाजप्रतिको जिम्मेवारीबोध र मेलमिलापको भावना बढ्न सघाएको स्थानीय बासिन्दाको भनाइ छ ।

होली प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दू समुदायमा विशेष महत्त्व राख्ने यो चाड वसन्त ऋतुमा उल्लासपूर्वक मनाइन्छ । होलीलाई रङहरूको पर्व मानिन्छ । यो दिन मानिसहरूले एक-अर्कालाई रङ लगाएर प्रेम र सद्भाव प्रकट गर्छन् ।

धार्मिक कथन अनुसार, हीरण्यकश्यप नामक असुर राजाले आफ्ना सबै प्रजालाई आफ्नो पूजा गर्न बाध्य बनाएका थिए । तर उनका छोरा प्रह्लाद भगवान् विष्णुका भक्त थिए । हीरण्यकश्यपले प्रह्लादलाई मार्न अनेक प्रयास गरे । अन्ततः हीरण्यकश्यपकी बहिनी होलिकाले (जसलाई आगोले नजल्ने वरदान थियो) प्रह्लादलाई आगोमा लिएर बसिन् । तर धर्मको पक्षमा रहेका कारण प्रह्लाद बच्न सफल भए र होलिका आफैं जलेर नष्ट भइन् ।

यही घटनाको सम्झनामा ‘होलीका दहन’ गर्ने परम्परा चलेको विश्वास गरिन्छ । द्वापरयुगमा श्रीकृष्णले पुतना नामकी राक्षसीलाई मारेपछि ब्रजवासिहरूले खुसीयालीमा एक-अर्कामा रङ छरेको भनाइ छ । जसले होली पर्वको अर्को ऐतिहासिक पक्षलाई दर्शाउँछ । -रासस