कञ्चनपुर, भदौ ८ :

असार तेस्रो साताको बाढीबाट कञ्चनपुरमा मात्रै एक अर्ब ६५ करोड बढिको क्षति भएको छ । 

बाढीले भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो ।

जिल्लाभर एक अर्ब ५७ करोड १० लाख २१ हजार चार सय २९ मूल्य बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले बताउनुभयो ।

कृषि क्षेत्रमा ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ बराबरको क्षति भएको छ भने महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा २९ करोड २२ लाख, महाकाली सिँचाइ तेस्रो चरण कार्यालयमा दुई करोड ३२ लाख ५२ हजार नौ सय, सडक डिभिजन कार्यालयमा रु तीन करोड ८८ लाख ७० हजार, पूर्वाधार विकास कार्यालयतर्फ सात करोड १९ लाख ७५ हजार बराबरको क्षति भएको छ ।

त्यस्तै, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा र २२ लाख, जनताको तटबन्ध कार्यालयको ४७ करोड ४२ लाख ८३ हजार नौ सय ८३, घरेलु तथा साना उद्योग कार्यालयको १७ लाख ६५ हजार, कृषि ज्ञान केन्द्रको ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ र पशुधनमा एक करोड २३ लाख ९१ हजार गरी जम्मा एक अर्ब ६७ करोड १० लाख २१ हजार चार सय २९ बराबरको क्षति भएको छ । बाढीका कारण कञ्चनपुरमा चार जनाको मृत्यु भएको पनि उहाँले जानकारी दिनुभयो । 

असार २३ र २४ गते कञ्चनपुरमा भीषण वर्षा भएको थियो । भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर पुगेको मौसमविद्को टोलीले पनि कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको छ।