
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निरंकुश शासन व्यवस्थाबाट प्रजातन्त्रमा प्रवेश गरेपछि देशले ठुलो फड्को मारेको बताएका छन् । शनिबार २५ औं ह्वाइटहाउस एजुकेसन फाउन्डेसन डे का अवसरमा आयोजित कार्यक्रममा उनले देशले पूर्वाधार विकाससँगै शिक्षाको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताए । उनले समाज परिवर्तनमा शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको पनि बताए ।
`नेपालमै राम्रो शैक्षिक संस्था बनिसकेको छ । तानाशाही शासनप्रणालीबाट भएको राजनीतिक परिवर्तन सँगै प्रजातन्त्र आएपछि देशले ठुलो फड्को मारेको छ, उपप्रधानमन्त्री सिंहले भने,` हामीले पढ्ने बेला र अहिलेको शैक्षिक अवस्थामा परिवर्तन आएको छ ।सकारात्मक सोच राखेर अघि बढ्दा राम्रो हुन्छ । हामीसँग भएका संस्थाबाट समाज रूपान्तरण गर्न प्रयास गर्नुपर्छ ।’
उनले निराशाको भाष्य बनाउनेभन्दा प्राप्त अवसरको सदुपयोग गर्नु सबैका लागि राम्रो हुने पनि बताए । देशको आर्थिक विकास र समृद्धि नै अबको प्राथमिकता रहेको भन्दै त्यसका लागि सरकारसँगै सबै क्षेत्रबाट सकारात्मक पहलको आवश्यकता रहेको सिंहको भनाई थियो ।