काठमाडौँ, भदौ १० :

झापाको कचनकवल गाउँपालिका- १ घेराबारी स्थित नेपाल- भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछी स्थानीयवासीले रोकेका छन् ।

गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल- १ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिनुभयो ।

यसअघि पनि पटक- पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उहाँले बताउनुभयो ।

हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको उहाँले बताउनुभयो । 

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताउनुभयो ।

विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।