काभ्रे, भदौ १८ :

काभ्रेमा हिजो भएका छुट्टाछुट्टै घटनामा गम्भीर घाइते दुई जनाको उपचारका क्रममा गए राति मृत्यु भएको छ । 

करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । 

पनौती नगरपालिका- ६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका- १ का २० वर्षीय सविन चौधरीको मृत्यु भएको हो ।

 करेन्ट लागेर गम्भीर घाइते चौधरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
यस्तै बनेपा- पनौती सडकखण्ड अन्तर्गत पनौती नगरपालिका- ५ ढलमलेमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलयात्रु ६३ वर्षीय काजीबहादुर गुरुङको मृत्यु भएको हो । 

बनेपाबाट पनौती तर्फ जाँदै गरेको प्रदेश ३- ०२- ०१३ प ०७५१ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिँदा टाउको र बायाँ खुट्टामा चोट लागेपछि उनको  काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको जनाइएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक बनेपा नपा- ७ का १७ वर्षीय सौरभ श्रेष्ठ र पछाडि बस्ने सोही वडाका १६ वर्षीय रियान प्रधान समान्य घाइते भएको प्रहरीले जनाएको छ ।