रोम, असार १६ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिम कम गर्न यसबाट प्रभावित राष्ट्रबीच दरिलो सहकार्य आवश्यक रहेको बताएकी छन् ।

इटालीको रोममा जारी राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ४४औँ महासभाअन्तर्गत सोमबार आयोजित अतिकम विकसित राष्ट्र तथा भूपरिवेष्ठित र साना टापु राष्ट्रहरुसँग सम्बन्धित उच्चस्तरीय सत्रमा उनले जलवायुजन्य जोखिम कम गर्ने योजनामा दरिलो सहकार्यका लागि अब ढिला गर्न नहुने धारणा राखिन् ।

‘अतिकम विकसित, भूपरिवेष्ठित र साना टापु राष्ट्रहरु जलवायु परिवर्तनको ठूलो जोखिममा परिरहेका छन् । यसले ती देशमा कृषि उत्पादन र जीविकोपार्जनमा समेत नराम्रोसँग असर गरिरहेको छ,’ उनले भनिन्, ‘आफ्ना एजेन्डामार्फत विश्वमा सहकार्य गर्न नेपालले हालै सगरमाथा संवाद सम्पन्न गरेको छ । आगामी दिनमा सबै राष्ट्रबीच साझा एजेन्डासहित सहकार्य जरुरी छ ।’

उनले हिमाली राष्ट्रहरूका लागि जलवायु अनुकूलन वित्तीय सहयोग, प्रारम्भिक चेतावनी प्रणाली र ग्रामीण पूर्वाधारहरुको विकास आवश्यक रहेकामा पनि जोड दिइन् । जलवायुजन्य जोखिमसँग जुध्न सर्वसुलभ र समावेशी उपायसहित अन्तर्राष्ट्रिय लगानी र क्षमता विकासका काम अपरिहार्य रहेको उनले बताइन् ।

परराष्ट्रमन्त्री राणाले भनिन्, ‘प्रविधि, सहकार्य र ऐक्यबद्धताले मात्र सम्भावना र उपलब्धिबीचको खाडललाई पुर्न सक्नेछ । नेपालले दक्षिण-दक्षिण र उत्तर-दक्षिण सहयोग प्रवर्धन, प्रविधि स्थानान्तरण, बजारमा विस्तार तथा वित्तीय स्रोतमा पहुँचका लागि सदैव आग्रह गर्दै आएको छ ।’

अहिले नेपालसहितका यी देशहरुले खाद्य असुरक्षा, कुपोषण, जलवायु परिवर्तनजस्ता साझा संकटको सामना गरिरहेका र यसले प्राप्त उपलब्धिलाई पनि खतरामा पारिरहेको उनले बताइन् । राणाले नेपालले जलवायुजन्य विपद्, कमजोर पूर्वाधार, जैविक विविधताको क्षय, प्रविधि तथा वित्तमा सीमित पहुँचजस्ता बहुआयामिक चुनौतीको सामना गरिरहेको बताए ।

एफएओद्वारा अघि सारिएको ‘फोर बेटर’ अर्थात् ‘राम्रा चार’ जस्तै राम्रो उत्पादन, राम्रो पोषण, राम्रो वातावरण र राम्रो जीवनले कृषि प्रणालीमा रुपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने राणाको भनाइ छ । राम्रो उत्पादनअन्तर्गत नेपालले जलवायुमैत्री खेती प्रणाली, पहाडी क्षेत्रमा बढी मूल्यका बाली र स्थानीय नवीनता तथा कृषिमा आधुनिकीकरण गरिरहेको र राम्रो पोषणअन्तर्गत विशेष समुदाय लक्षित पोषिलो खाद्यान्न प्रवर्धन गरिरहेको उनले बताइन् ।

त्यसैगरी राम्रो वातावरणअन्तर्गत नेपालले पुनःप्रजनन् कृषि, माटो तथा जल र जैविक विविधता संरक्षणमा प्राथमिकता दिएको र राम्रो जीवनतर्फ महिला, युवालगायत साना किसान तथा सीमान्तकृत समुदायलाई उद्यमशीलता, सामाजिक सुरक्षा, ग्रामीण पूर्वाधार र सेवामा पहुँच विस्तार गरेर जीविकोपार्जनमा सुधार ल्याएको उनको भनाइ छ ।

राणाले कृषि क्षेत्रमा नेपालमा ६० प्रतिशतभन्दा बढी जनशक्ति संलग्न रहेको र राष्ट्रिय उत्पादनमा कृषिको २३ प्रतिशत योगदान रहेको उल्लेख गर्दै कृषि रोजगारीको माध्यम मात्र नभई पोषण र जीवनयापनको माध्यम भएको पनि बताइन् ।