काठमाडौं, असार २८ :

गत महिना एयर इन्डिया दुर्घटनामा इन्धन आपूर्तिमा आएको अवरोधका कारण २ सय ६० जनाको ज्यान गएको प्रारम्भिक रिपोर्टले देखाएको छ।

लन्डन उडानको तयारीमा रहेको विमान अहमदाबाद विमानस्थलबाट उड्ना साथ दुर्घटना भएको थियो । विमानमा रहेका एक जना यात्री बाहेक सबैको ज्यान गएको थियो ।

एयर इन्डियाको  विमान दुर्घटनाको केही क्षणअघि दुबै इन्धन नियन्त्रण स्विचहरू "कट-अफ" स्थितिमा सारिएको देखिएको  दुर्घटनामा सम्बन्धित प्रारम्भिक रिपोर्टले जनाएको छ ।  जुन प्रक्रिया सामान्यतः इन्जिनहरू बन्द गर्न प्रयोग गरिन्छ।

ककपिट भ्वाइस रेकर्डिङ अनुसार दुई जना पाइलटबीच भ्रम देखिन्छ। एक पाइलट अर्कोलाई "तिमीले किन कट-अफ गर्यौ?" भनेर सोधेको सुनिन्छ, जसमा दोस्रो पाइलटले आफूले कट-अफ नगरेको जवाफ दिएको रिपोर्टले बताउँछ।

त्यसपछि स्विचहरू फेरि ठिक ठाउँमा फर्काइएको देखिन्छ र इन्जिनहरू फेरि सुरू हुन लागेका बेलामा दुर्घटना भएको थियो ।

भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोद्वारा तयार पारेको रिपोर्ट अनुसार बोईङ ७८७ ड्रिमलाइनर ककपिटमा रहेका इन्धन नियन्त्रण स्विचहरू उल्टिएका थिए जसले इन्जिनमा इन्धन आपूर्ति रोकिएको थियो ।

अन्वेषकहरूले विमानको ब्ल्याक बक्सबाट ४९ घण्टाको उडान डाटा र २ घण्टाको ककपिट अडियो प्राप्त गर्न सकेका थिए जसमा दुर्घटनाको समयको रेकर्ड पनि समावेश छ।

रिपोर्ट अनुसार विमानले १८० नट्सको गतिको साथ उडिरहेको बेलामा दुवै इन्जिनको इन्धन कट-अफ स्विचहरू रनबाट कट अफमा सारिएका थिए । त्यो पनि एक सेकेन्डको फरकमा ।

बोईङ ७८७  मा इन्धन कट-अफ स्विचहरू दुई पाइलटको सिटको बीचमा थ्रटल लिभरको ठीक पछाडि राखिएको हुन्छ। ती स्विचहरू धातुको बारले छेउबाट सुरक्षित गरिएको हुन्छ र यिनलाई संयोगवश चल्न नदिने लकिङ मेकानिजम समेत रहेको हुन्छ।

विमानको टेकेर उड्ने क्रममा आपतकालीन बिजुली आपूर्ति उपकरण  र्याम एअर टरबाइन  बाहिरिएको देखिएको छ। विमानले विमानस्थलको बार पार गर्नु अघि नै उचाइ गुमाउन थालेको थियो।

रिपोर्ट अनुसार "जब इन्धन स्विचहरू कट अफबाट रनमा  सारिन्छन्,इन्जिन स्वचालित रूपमा इग्निशन र इन्धन प्रवाह पुन: सुरू गरेर थ्रस्ट रिकभरी प्रक्रिया सुरु गर्छ।"

इन्जिन पुनः सुरू हुन लाग्दा एक पाइलटले तीन पटक  "मेडे मेडे मेडे" भन्दै आपतकालीन सन्देश दिएका थिए। एअर ट्राफिक कन्ट्रोलले विमानको कलसाइन सोधेको भए पनि कुनै जवाफ आएको थिएन र उनले विमानलाई टाढा दुर्घटनाग्रस्त हुँदै गरेको देखेका थिए।

विमानका क्याप्टेन ५६ वर्षका थिए । उनले १५ हजार घण्टा भन्दा बढी उडान अनुभव बटुलेका थिए। पहिलो अफिसर ३२ वर्षका थिए र उनीसँग ३ हजार ४ सय घण्टाभन्दा बढी उडान अनुभव थियो।

अन्वेषकहरूका अनुसार विमानमा भेटिएका उपकरणहरूको सेटिङ उडानका लागि सामान्य अवस्थामा थिए। इन्धन परीक्षण पनि गरिएको थियो र गुणस्तर सन्तोषजनक पाइयो। उडान मार्गमा पन्छीहरूको उल्लेखनीय गतिविधि पनि देखिएको थिएन।

विमानको वजन उडानको लागि अनुमति प्राप्त सीमाभित्रै थियो र विमानमा खतरनाक सामानहरू थिएनन्। पखेटाको फ्ल्याप ५ डिग्रीको स्थितिमा राखिएको थियो जुन उडानको लागि सहि हो र ल्याण्डिङ गियर तलको स्थितिमा थियो।

बायाँ इन्जिन मार्च २६ मा र दायाँ इन्जिन मे १ मा विमानमा जडान गरिएको थियो।

एयर इन्डिया फ्लाइट १७१ भारतको पश्चिमी राज्य गुजरातस्थित अहमदाबादको सरदार वल्लभ भाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट २०२५ जुन १२ मा उडेको थियो।

बोईङ ७८७-८ ड्रिमलाईनर  विमान लन्डन ग्याटविक जान लागेको थियो जहाँ साँझ ६:२५ मा अवतरण हुने तालिका थियो।

एयर इन्डियाका अनुसार २४२ जना यात्रु र चालक दल विमानमा सवार थिए । जसमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगीज र १ जना क्यानाडेली नागरिक थिए।

विमान दुर्घटना हुँदा अस्पतालको छात्रावास (बिजे मेडिकल कलेज) मा ठोक्किएर भुईँमा रहेका थुप्रै व्यक्तिहरूको पनि ज्यान गएको रिपोर्टमा उल्लेख छ। कुल मृतक संख्या २ सय ६० पुगेको छ।