जुम्ला, असोज ५ :

जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन् ।

पालिकामा बसोबास गर्ने अधिकांश नागरिक साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ ।

साक्षरताका १२ वटा सूचक मध्ये हस्ताक्षर गर्न सक्ने, मोबाइल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, एकदेखि १० सम्म अङ्क भन्न र सामाजिक भावना व्यक्त गर्न सक्ने भएकाले साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शङ्कर धितालले बताउनुभयो ।

बाह्रवटा सूचक मध्ये बाँकी छवटा सूचक पूरा गर्न विद्यार्थी र विद्यालय परिचालन गरिएको छ । मूल्याङ्कन गर्दा सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत मानिएको छ ।

पच्चीस प्रतिशत परियोजना कार्य मध्येबाट विद्यार्थीले अभिभावकलाई साक्षर बनाउने र एक अर्कालाई सिकाउने रणनीति लिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।