काठमाण्डौँ , असोज १० :

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको आंशिक प्रभावले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

यसले देशका अधिकांश भागमा बदली भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली  रहेको छ भने कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनचट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जनचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम  प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका कुनैपनि स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका सर्वसाधारणलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।