मकवानपुर, असोज १२ :

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- २ कौरास्थित भीमफेदी- कुलेखानी- फाखेल हुँदै काठमाडौँ ओहोरदोहोर बाटो बन्द भएको छ ।

वर्षासँगै आएको पहिरोले आज बिहानदेखि उक्त खण्ड बन्द भएको हो । 

स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यस्तै पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ खण्ड पनि सञ्चालनमा आएको छैन । बिहीबार राति मकवानपुरको बकैया गाउँपालिका- १२ घट्टेपाखामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको हो । सो स्थानको पहिरो पनि हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी- कुलेखानी- सिस्नेरी- दक्षिणकाली खण्ड तथा पूर्वपश्चिम राजमार्गमा भने यातायात सञ्चालन भइरहेका छन् ।