
कागेश्वरी मनोहरा नगरपालिका र अमेरिकाको ह्यारिसनभिल सिटीबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। नगरपालिका परिसरमा आज (बुधबार) आयोजित एक विशेष कार्यक्रमकाबीच कागेश्वरी मनोहराको तर्फबाट मेयर उपेन्द्र कार्की र ह्यारिसनभिल सिटीकोतर्फबाट मेयर माइक जारिङले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे ।
सो अवसरमा नगरप्रमुख कार्कीले आपसी विश्वास र सम्मानका आधारमा गरिएको उक्त सम्झौताले दुवै सहरबीच शिक्षा, सामाजिक कल्याण, स्वास्थ्य तथा सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा सहयोग र सहकार्य हुने विश्वास व्यक्त गरे। साथै उनले सहकार्यमार्फत दुवै शहरका नागरिकबीच आपसी सम्बन्ध सुदृढ गर्दै अनुभव र ज्ञान आदान–प्रदानलाई प्रवर्द्धन गर्ने बताए । यसले दीर्घकालीन मित्रता र सहकार्यको आधार तयार गर्ने नगरप्रमुख कार्कीको भनाइ थियो ।
पूर्ण रूपमा मैत्री सम्बन्ध विस्तार गर्ने उद्देश्यले गरिएको सम्झौताअनुसार दुवै पक्षले एकअर्काको संस्कृति, परम्परा र इतिहासको सम्मान गर्दै विभिन्न आदान–प्रदान कार्यक्रमहरू सञ्चालन गर्नेछन्।
सम्झौता हस्ताक्षर भएसँगै दुवै सहरबीच भविष्यमा थप सहकार्य र आदान–प्रदानका कार्यक्रमहरू सञ्चालन हुने अपेक्षा गरिएको छ। नगरपालिकाको तर्फबाट मेयर माइक जारिङलाई फूलमालासहित भव्य स्वागत गरिएको थियो । विभिन्न जातीय तथा सांस्कृतिक भेषभुषामा सजिएका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।