काठमाण्डौं, चैत २२ :

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ पेस भएसँगै आजका लागि पेसी तोकिएको हो ।जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते  र  लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएकी थिइन् ।

जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले दुबैजना विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।