
राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँका अवसरमा दक्षिणकालीस्थित दक्षिणकाली मन्दिरमा आज बिहान पूजाअर्चना गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गर्नुभएको छ।
राष्ट्रपति पौडेलका साथमा प्रथम महिला सबिता पौडेल लगायतको सहभागिता रहेको थियो ।
काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ।
त्यस अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनःनिर्माणमा सहयोगका लागि आग्रह गर्नुभयो । साथै काठमाडौँ मकवानपुरको सडक छिटो पुनःनिर्माण गरी निर्वाध यातायात सञ्चालनको हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।