
हालैको वर्षाले भोजपुर टेम्केमैयुङ- ९ लेखर्कमा राउतेखोला पक्की पुलसँगै विभिन्न संरचनामा क्षति पुर्याएको छ ।
वर्षासँगैको पहिरोले पुल, खानेपानी, सिँचाइ कुलो, सडक, पाँचधारे प्रहरी चौकीेसँगै स्थानीयको घर तथा विभिन्न संरचनामा क्षति पुगेको छ ।
बाढीपहिरोका कारण चार करोड बढीको क्षति भएको टेम्केमैयुङ- ९ का वडाध्यक्ष नभराज माङ्पाहाङले बताउनुभयो । हाल क्षति पुगेका संरचनाको विवरण सङ्कलनको काम भइरहेको उहाँको भनाइ छ ।
पहिराले साविक वडा नं ६ काभ्रेमा बस्ती नै जोखिममा रहेको वडाध्यक्ष माङ्पाहाङले जानकारी दिनुभयो । त्यहाको राईटोल र विकटोल जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै बाढी पहिराले काभ्रे खानेपानी आयोजना, लेखर्क खानेपानी आयोजनामा क्षति पुगेको छ । त्यस्तै गिद्धे सिँचाइ कुलो, धिमाल कुलो, बिसाउने कुलो, बजगाईँ कुलो, सुन्तले कुलो, विजलेस काभ्रे सिँचाइ कुलो र जौबारी सिँचाइ कुलोमा क्षति पुगेको छ ।
साविक दुई वाइराङका तुलसी सुनार, सूर्य विकको घर र ज्ञानोदय आधारभूत विद्यायलय पहिराको जोखिममा परेको वडा कार्यालयले जनाएको छ । पाँचधारे प्रहरी चौकीको पश्चिम भागबाट पहिरो खस्दै गरेकाले जोखिममा रहेको वडाका प्रतिनिधि बताउँछन् ।
पहिराले दीपेन्द्र घिमिरे, इन्दिरा राई घिमिरे, जोधन राई, सीताराम घिमिरे र सूचन राईको घरमा असर परेको जनाइएको छ । त्यस्तै स्थानीय कुमार विश्वकर्माको खेतमा क्षति पुगेको वडाले जनाएको छ ।
साविक- ४ जाल्पादेवी आधारभूत विद्यालय र युवराज पुरीको घर पहिराको जोखिममा परेको जनाइएको छ ।