काठमाडौँ, असोज २३ :

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८०-०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ । 

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गर्नुभएको हो ।  

राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवम् स्थायित्वको एउटा आधार भएको बताउनुभयो ।  

उहाँले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने हुँदा यो लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी, आजै राष्ट्रिय महिला आयोगले पनि आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको छ ।

आयोगकी अध्यक्ष कमला पराजुलीले आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभएको हो। 

राष्ट्रपति पौडेलले महिला आयोगको प्रतिवेदन ग्रहण गरेपछि धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको उल्लेख गर्नुभयो ।

आगामी दिनमा आयोगले महिलाको उपस्थिति र योगदानलाई अझ सशक्त र प्रभावकारी रुपमा काम गर्ने मेरो विश्वास व्यक्त गर्नुभयो।