काभ्रे, असोज २४ :

यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय बनेका काभ्रेपलाञ्चोकका तीन गाउँपालिकामा दसैँ अघि बिजुली बाल्ने प्रयास भइरहेको छ । 

वर्षापछि आएको बाढीपहिरोले सडक अवरुद्ध हुनुका साथै बिजुलीका पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा महाभारत, बेथानचोक र रोशी गाउँपालिका अन्धकारमय छन् । 

बेथानचोक र रोशी गाउँपालिकाको केही वडामा विद्युत्को काम भइरहेको नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीले बताउनुभयो । 

खानीखोला गाउँपालिकाबाट महाभारत गाउँपालिकामा बिजुली लैजाने प्रयास भइरहेको उहाँले बताउनुभयो । खानीखोलाबाट बिजुली लैजान सकिए महाभारतको केही क्षेत्रमा बिजुली बत्ती बाल्न सकिने सम्भावना रहेको उहाँको भनाइ छ। 

रोशी गाउँपालिका- २, ३, ५ र ७ तथा गाउँपालिका कार्यालयसम्म भने बिजुली ल्याउन सकिने सम्भावना छ । सडक सञ्जाल नै अवरुद्ध हुँदा बेथानचोक, महाभारत र रोशीका अधिकांश स्थान बिजुली बिहीन भएका हुन् । 

महाभारत गाउँपालिकामा बाढीपहिरोले सडक अवरुद्धका साथै पोल, ट्रान्सफर्मरलगायत संरचना बगाउँदा तीन हजार एक सय ७४ परिवार बिजुली विहीन अवस्थामा रहेका छन् ।

रोशी खोलाले गाउँपालिका जोड्ने विभिन्न स्थानमा बाटो नै बगाएपछि बिजुली सञ्चालन गर्न समस्या भएको अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । उहाँका अनुसार सडक मर्मत एवं पुनः निर्माण भएपछि मात्रै बिजुली बाल्न सकिने छ ।