भक्तपुर, असोज २५ :

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरमा हालैको बाढीपहिरो तथा डुबान प्रभावितलाई सरकारले उपलब्ध गराएको तीन लाख रकमसहित अन्य राहत सामग्री वितरण गर्नुभएको छ । 

पहिरोले पुरेर घरभित्रमा परी ज्यान गुमाएका मृतकका आफन्तलाई सङ्घीय विपद् व्यवस्थापन कोष र प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराएको राहत रकमसहित राहत सामग्री लिएर उहाँ आफैँ पहिरोपीडितको बासस्थान पुग्नुभएको हो । 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रजिअ श्रेष्ठले सूर्यविनायक नगरपालिका- ८ स्थित आशापुरी नैचालमा पहिरोमा परेर मृत्यु भएका प्रतिमा तामाङका परिवारलाई तीन लाख र मृतक सुकुमाया तामाङको श्रीमान् तथा छोराहरुलाई तीन लाख नगद हस्तान्तरण गर्नुभएको हो ।
   
यही असोज १२ गतेको पहिरोमा परेर कालीकोट सानो त्रिवेणी- ५ घर भई सूर्यविनायक- ९ पलाखे बस्ने मृतक दमिला शाही र उनको छोरी प्रिया बमको दुई जनाको परिवारलाई तीन लाख गणेश बमको बैंक खातामा जम्मा गरिदिएको प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो ।  
   
त्यस्तै पहिरोमा परेर घाइते हुनुभएका सानु तामाङ र कान्छा तामाङको भने भक्तपुर अस्पतालमा निःशुल्क उपचार गरी राहत स्वरुप १५ हजार राहत रकम उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । 

मृतक परिवारलाई प्रजिअ श्रेष्ठले मृतक परिवारलाई तत्काल बासस्थानका निर्माणका लागि त्रिपाल र भाँडाकुँडा हस्तान्तरण गर्नुभएको छ ।
   
त्यसैगरी सूर्यविनायक नगरपालिकाले पनि सोही पहिरोमा परी ज्यान गुमाउने पाँच जनाकै परिवारलाई एक लाखको दरले राहत रकम प्रदान गरेको छ । 

नगर प्रमुख वासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता भट्टराई सहित गएका जनप्रतिनिधि टोलीले पीडितका बासस्थानमै पुगेर तामाङ परिवारलाई जनही एक लाखको दरले रकम हस्तान्तरण गर्नुभएको हो ।