
गोरखा, असोज २५ :
गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ ।
आज बिहान शुभसाइतमा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमानढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताउनुभयो ।
बाजागाजा सहितको र्याली निकालेर गोरखा दरबारबाट फूलपाती पठाइएको हो । फूलपाती काठमाडौँको हनुमान ढोका दरबारमा ल्याइपुर्याइएपछि आज साँझ हर्कबढाइँका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ ।
गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपाती सहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहेको उहाँले बताउनुभयो ।