
झापाको भद्रपुर नगरपालिका- १० स्थित हनुमान चोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको । दुई जना घाइते भएका छन् ।
दुर्घटनामा भद्रपुर- १० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
गए राति चारआली- चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १- ०१- ०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
बाबु त्रिलोचन भण्डारीले चलाएको प्रदेश १- ०१- ०१४ प ९९३ नम्बरको मोटरसाइकलको पछाडि बसेका आलोकलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा पुर्याएपनि चिकित्सकले मृत घोषित गरेको प्रवक्ता चन्दले बताउनुभयो ।
दुर्घटनामा प्रदेश १- ०१- ०१४ प ९९३ नंको मोटरसाइकल पछाडि सवार भद्रपुर- १० का २४ वर्षीय विपान्सु राउतको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
उहाँको अवस्था सामान्य छ । मे८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर- ८ का २५ वर्षीय सञ्जिव गिरीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेका छ ।
उहाँको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।