सप्तरी, असोज २६ :

बडादसैँको अवसरमा  छिन्नमस्ता भगवती मन्दिरमा आज पुष्प वृष्टि गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट छिन्नमस्ता गाउँपालिका- ३ सखडा स्थित उक्त मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो । 

पहिलो पटक आज छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टर मार्फत पुष्पवृष्टि गरिएको उहाँले बताउनुभयो ।

“धार्मिक आस्था र मातृ शक्ति प्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भूत शक्तिको सम्मानस्वरूप पहिलो पटक अष्टमीको दिन पुष्प वृष्टि गर्दा यहाँका भक्तजन र यस क्षेत्रका स्थानीयवासी खुशी भएको अध्यक्ष चौधरीको भनाइ छ । 

राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा अवस्थित छिन्नमस्ता मुलुकका प्रमुख ५१ शक्तिपीठ मध्ये एक मानिन्छ । 

यस मन्दिरमा बडा दसैँमा मेलासमेत लाग्ने गरेको  मन्दिरको पीठाधीस महानन्द ठाकुरले बताउनुभयो ।

त्यसैगरी हनुमाननगर कङ्कालिनी नगरपालिका- १ भारदहस्थित कङ्कालिनी मन्दिर समेतमा आजै नेपाली सेनाको हेलिकप्टरमार्फत पृष्प वृष्टि गरिएको छ । विगत दुई वर्षदेखि बडा दसैँको महानवमीका दिन हेलिकप्टरमार्फत पुष्प वृष्टि गराउन थालिएको हो ।  

कङ्कालिनी मन्दिरमा दसैँको नवमी तिथिका दिन यस मन्दिरमा राँगो बली दिने चलन छ । त्यहाँ पनि आज ठुलो मेला लागेको छ ।