डडेलधुरा, असोज २९ :

डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई सार्वजनिक गरिएको छ । 

शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीय आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन मार्फत हिजो सार्वजनिक गरेको हो । 

अमरगढी नगरपालिका- ७ की बालिका भट्टराईको हत्या गरिएको थियो। डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेको बताउनुभयो । 

डीएसपी श्रेष्ठले पसलभित्र कोठामा आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेको बताउनुभयो । स्थानीयले भने बलात्कारपछि हत्या भएको दाबी गर्दै कडा कारबाहीको माग गरेका छन् । 

बालिकाको शवको प्रतिवेदन आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने प्रहरीले जनाएको छ ।

किशोरी भट्टराई असोज २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकै  मिल गएकी थिइन् । पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको जनाइएको छ ।