काठमाण्डौँ , असोज २९ :

चाडपर्वका अवसरमा चियापान गरी शुभकामना आदानप्रदान गर्दै आएका प्रमुख राजनीतिक दलले यो वर्ष त्यस्ता कार्यक्रम नगर्ने भएका छन् ।

काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा एकीकृत समाजवादीले दसैँको मुखमा आएको प्राकृतिक विपत्तिका कारण ठूलो धनजनको क्षति भएकाले शुभकामना कार्यक्रम नगर्ने निर्णय गरेका हुन् ।

राजनीतिक दलहरूले चाडपर्वको अवसरमा जमघटको रुपमा लिँदै चियापान तथा शुभकामना आदान प्रदान गर्दै आएका थिए ।

तर यसपटक दसैँको मुखमा आएको बाढी, पहिरोमा परी एक सय ५० भन्दा बढीको मृत्यु र ठूलो भौतिक क्षति भएकाले दलहरूले विगतदेखि गर्दै आएको चियापान कार्यक्रम नगर्ने निर्णय गरेका हुन् ।

विगतमा केन्द्रदेखि जिल्ला तहसम्म तामझामका चियापान कार्यक्रम हुने गरेको थियो । 

यसवर्ष केन्द्र देखी तल्लो तहसम्मका नेता कार्यकर्ताहरूलाई बाढी, पहिरो पीडितलाई थप पीडा हुने गरी औपचारिक रुपमा चाडपर्व लक्षित चियापान तथा शुभकामना कार्यक्रम नगर्न निर्देशन दिइएको काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो ।