कञ्चनपुर, साउन १८ : कञ्चनपुरमा हात्ती सहितको टोलीले बाघलाई नियन्त्रणमा लिइएको छ । दोधारा चाँदनी नगरपालिका–२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिन हात्ती सहितको टोली परिचान गरिएको थियो । 

हिजो बिहान घर नजिकैको उखुबारीमा घाँस काट्ने क्रममा बाघले दोधारा चाँदनी–२ की २३ वर्षीया हिरा शाहलाई आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको थियो ।   
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको हो । 

बाघलाई नियन्त्रणमा लिने प्रयास हिजोबाट नै गरिए पनि आज मात्र नियन्त्रणमा लिईएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । गएको रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले बाघलाई उखुबारी मै कुरेका थिए । बाघलाई नियन्त्रणमा लिन पाँचवटा हात्तीसहित प्राविधिक टोली परिचालन गरिएको थियो । 

कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरपरका बस्तीमा मानव वन्यजन्तुबीचको द्वन्द्वले बेलाबेला समस्या हुने गरेको छ । 
३६ वटा पाटे बाघ रहेको शुक्लाफाँटासँग डार्ट गर्ने प्राविधिक सामग्री उपलब्ध नहुँदा बर्दियाबाट टोली बोलाउनुपर्ने अवस्था छ । अहिले पनि कञ्चनपुरमा कुनै घटना घटे डार्टका लागि बर्दिया राष्ट्रिय निकुञ्जको भर पर्नुपर्दछ । 

मानव वन्यजन्तु द्वन्द्व बढिरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मै डार्ट गर्ने प्राविधिक टोली हुनुपर्ने स्थानीयको माग छ ।