
तुलसीपुरका होटल व्यवसायीले राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग गरेका छन् ।
कोरोना पछि होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा रहेको भन्दै राति ११ बजेसम्म खोल्न पाउनुपर्ने माग राख्दै आएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले ११ बजेसम्म सञ्चालन गर्न पाउने भनी पत्र दिएको भए पनि प्रहरीले ९ बजे बन्द गराउँदै आएको भन्दै यसले व्यवसायी थप मारमा परेको व्यवसायी तुफान केसीले बताउनुभयो। प्रहरीले जबर्जस्ती ९ बजे बन्द गराउँदै हिँडिरहेकोले आफुहरुलाई निकै मार परेको उहाँको गुनासो छ ।
राति गाडीमा बाहिरबाट आउनेहरुलाई पनि मध्यनजर गर्नुपर्ने भन्दै केसीले राति ११- १२ बजेसम्म होटल सञ्चालनको अनुमति पाए व्यवसायीलाई सहज हुने बताउनुभयो ।
बाहिरबाट आउने आगन्तुकलाई बस्ने, खाने व्यवस्थाप्रति स्थानीय प्रशासनले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले राति ९ बजे बन्द गर्ने त्यस्तो कुनै निर्णय नभएको बताउनुभयो ।
भट्टी पसललाई मात्रै ९ बजे बन्द गर्न लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले बताउनुभयो ।