
काठमाण्डौँ , कात्तिक १६ :
नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालयको हिजो राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फका दुई डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल हुनुहुन्छ । बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दूरुपयोग अनुसन्धान आयोग टङ्गाल र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत हुनुहुन्छ ।
बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।