काठमाडौं, माघ १५ :

विभिन्न सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूसँग ६५ लाख रुपैयाँ धरौटी माग्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिन उच्च अदालत पोखरा पुगेका छन् ।

धरौटी रकम बढी माग्ने कास्की अदालतको आदेशमा चित्त नबुझी लामिछाने धरौटी बदरको निवेदन लिएर उच्च अदालत पुगेका हुन् । आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी रविले उच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।

सरकारी पक्ष भने यसअघि नै उच्च अदालत पुगिसकेको छ । रविलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउनुपर्ने माग राखी उच्चमा पुगेको हो ।

कास्की अदालतका न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते रविलाई ६५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो । तत्काल प्राप्त प्रमाणबाट अहिले नै कसुरदार रहेनछन् भन्न सकिएन भन्दै धरौटीमा छाड्न आदेश भएको थियो ।

रविले काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा ६० लाख रुपैयाँ र बुटवलको सुप्रिम सहकारी मुद्दामा एक करोड रुपैयाँ धरौटी बुझाएका छन् । अब चितवन र पर्सामा पनि उनीविरुद्ध मुद्दा चलाउने सरकारी वकिलको तयारी छ ।

याे पनि‍…

सहारा सहकारी ठगी प्रकरण : रविविरुद्ध चितवनमा पनि मुद्दा दर्ताको तयारी

रुपन्देहीमा पनि रवि कसुरदार : १ करोड धरौटीमा छुटे