
वीणा-पुस्तक धारिणी...
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइएको छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् ।
सरस्वतीलाई तान्त्रिकहरूले तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यसैबीच आजै हनुमानढोका दरबारस्थित नासलचोक पुगेर राष्ट्रपति, उपराष्टपति, प्रधानमन्त्री, सभामुखलगायत विशिष्ट व्यक्तिहरुले वसन्त श्रवण गरेका छन् ।
कहिले टुंगिएला विवाद
पाथीभरा केबलकार विवाद समाधानका लागि गृह मन्त्रालयले गठन गरेको वार्ता समितिलाई आन्दोलनरत समूहले पत्याएका छैनन् । उनीहरुले वार्ता समिति कर्मचारीको तहमा मात्र सीमित रहेको भन्दै यसलाई राजनीतिक तहमा लैजानुपर्ने माग गरेका छन् ।
उनीहरुले आन्दोलनलाई रोकेका छैनन् । आन्दोलनको असरले कोशीका ९ जिल्लामा यातायात सेवा अबरुद्ध भएका छन् । जसले जनजीवन प्रभावित बनेको छ । गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपमा पाँच आन्दोलनकारी र २१ सुरक्षाकर्मी घाइते भएका थिए ।
यसैक्रममा आज काठमाडौंको माइतीघरमा पनि पाथीभरामा केबलकार बनाउन दिन नहुने पक्षधरहरुले प्रदर्शन गरेका छन् ।
कहिले हट्ला गरिबी ?
प्रधानमन्त्री केपी ओलीले नेपाल समृद्ध देश बन्नुपर्ने बताएका छन् । उनले नेपालबाट गरिबी हटाएर मुलुकलाई समृद्धि बनाउनुपर्नेमा जोड दिए । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले नेपाल समृद्ध देश बन्ने आधारहरु धेरै रहेको उल्लेख गरे ।
नेपाल गौरवपूर्ण खोज अध्ययन, अनुसन्धान गरेका विद्वान् पूर्खाहरुको देश भएको उल्लेख गर्दै उनले स्वाधीन र स्वाभिमानी देश भएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले नेपालको भूगोल उर्वर रहेको र भौगोलिक क्षेत्रको आवश्यक विविधता पनि नेपालसँग रहेको बताए ।
लगानीकर्तामा उत्साह
नेप्सेको उकालो यात्राले साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ६९ दशमलव ८० अंकले बढेको नेप्से आज दुई दशमलव ४१ अंकले बढेर २७ सय ३० अंकमा चढेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि १.२३ अंकले बढेर चार सय ५९ दशमलव ६१ अंकमा पुगेको छ । नेप्सेमा आज ३१९ कम्पनीको कारोबारमा एक लाख ११ हजार नौ सय १८ पटकको कारोबार भएको थियो ।
जसमा दुई करोड ३७ लाख ७० हजार तीन सय ४८ कित्ता सेयर खरिद-बिक्री भए । योसँगै कुल कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार पाँच सय ३८ रुपैयाँ पुग्यो ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा ६ समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् ।
क्यानडालाई ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिकाले लगाएको करको बदला क्यानडाले लिए क्यानडामाथि थप कर लगाउने चेतावनी दिएका छन् । अमेरिकाले क्यानडामा २५ प्रतिशत कर लगाएको थियो ।
त्यसकै जवाफमा क्यानडाले पनि अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाका उत्तरी छिमेकीहरूले लामो समयदेखि अमेरिकाको अपमान गर्दै आएको दाबीसमेत गरेका छन् ।