
सक्रिय न्युजको ‘सक्रिय हाइलाइट्स’मा आज निजामती सेवा कस्तो बनाउने भन्ने विषयमा सांसदहरुको घनिभूत छलफलमा रहेका छन् । यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने गरेको दाबीलगायत समाचार समावेश गरेका छौं ।
यसैगरी काठमाडौंको साँखुस्थित सालीनदीमा लागेको एकमहिने माधवनारायण मेला सकिएसँगै मन्दिरपरिसर अहिले सुनसान बनेको छ भने चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न विषयमा गत वर्षको तुलनामा २३१ सिट थप गरेको समाचारहरु समावेश गरिएका छन् । साथै साप्ताहिक सेयर समीक्षा पनि सक्रिय हाइलाइट्समा समेटेका छौं ।
प्रस्तुत छ- सक्रिय न्यजुको आजको हाइलाइट्स :
कस्तो बनाउने निजामती सेवा ?
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती सेवाको खुला प्रतियोगितामा सेवाभित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा शुक्रबार महामन्त्री थापाले यस्तो प्रस्ताव गरेका हुन् । उनले निजामती सेवामा खुला प्रतियोगिताका लागि १० प्रतिशत, अन्तरतहबाट २० प्रतिशत, आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत र बढुवाद्वारा ५० प्रतिशत प्रस्ताव गरे ।
असफल हुँदैन अध्यादेश
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेर पारित हुनबाट नरोकिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित नेपालका लागि आईसीटी आधारित उद्यमशिलता : आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तर्क्रियामा उनले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवर्धन गर्ने हिसाबले ल्याएको बताए । अध्यादेशको विरोध भयो भनेर कोसिस असफल नहुने उनको भनाइ छ । दुई प्रमुख राजनीतिक दलले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै उनले पारित गर्ने अनेक विकल्प रहेको पनि दाबीसमेत गरे ।
मेलापछिको सन्नाटा
काठमाडौंको सालीनदीमा लागेको एकमहिने माधवनारायण मेला अस्ति बुधबार सम्पन्न भएको छ । एक महिनासम्म निकै चहलपहल देखिएको सालीनदीको किनार र भक्तजनले खचाखच भरिएको मन्दिरपरिसर अहिले भने सुनसान छ ।
मन्दिर व्यवस्थापन समितिका सदस्यहरू यतिखेर मन्दिर र त्यसवरपरका ढुंगाका सिँढीहरू सफा गरिरहेका छन् ।
मेलाको समयमा राता र पहेँला देखिएका सालीनादीदेखि गोमाको कुटीसम्मको क्षेत्र अहिले फुङ्ग र उजाड देखिएको छ । केही युवा भने भक्तजनले खोलामा चढाएका सिक्का खोज्न चुम्बकको प्रयोग गरेर यताउता भौंतारिरहेको पनि देख्न सकिन्छ ।
थपियो २३१ सिट
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहका विभिन्न विषयमा गत वर्षको तुलनामा २३१ सिट थप गरेको छ । सरकारी स्वामित्वमा रहेका प्रतिष्ठान तथा कलेजमा गरेर स्नातकोत्तर तहका विभिन्न विषयमा २३१ सिट थप भएसँगै कुल १ हजार २६ सिट पाएको आयोगले जनाएको छ । गत वर्ष यी संस्थाहरूमा ७९५ सिट थियो ।
प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको आयोगको १७औं बैठकले १४ वटा संस्थामा सिट संख्या थप गर्ने र चार वटामा घटाउने निर्णय गरेको हो ।
साप्ताहिक सेयर समीक्षा
सातामा पाँच कार्य दिन नै खुला रहेको नेप्से यो साता औसत कारोबारमै सकियो । कारोबार खुलेको मध्ये तेस्रो र चौथो दिन सामान्य अंकले उकालो लागेको नेप्से बाँकी तीन कार्यदिन लगातार ओरालो लागेको थियो । सातामा नेप्से परिसूचक २६ सय ७८ दशमलव ४७ अंकमा कायम रहँदा सेन्सिटिभ इन्डेक्स पनि चार सय ४९ दशमलव ८८ अंकमा सीमित भएको छ । ३२२ कम्पनीका तीन लाख ९२ हजार नौ सय २६ पटकको कारोबारमा सात करोड ५६ लाख ६३ हजार तीन सय ४४ कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम ३९ अर्ब २४ करोड ४३ लाख २२ हजार एक सय ६९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।