
म्याग्दीको जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली लागू गरिएको छ । गत साउन १ गतेदेखि स्वचालित रुपमा मुद्दाको पेसी तोक्न थालेपछि सेवाग्राहीलाई सहज भएको हो ।
स्वचालित पेसी लागू भएपछि कार्यसम्पादन छिटो, छरितो हुनाका साथै पेसी तोक्न सहज भएको अदालतका स्रेस्तेदार भोलाराज रेग्मीले बताउनुभयो ।
अदालतमा दर्ता भएर अंश पुगेका मुद्दाहरू प्रणालीमा राखेपछि स्वचालित रूपमा पेसी चढ्ने भएकाले मुद्दाका पक्ष विपक्षबीचमा पेसी तोक्दा हुने विवादको समस्यासमेत निरुपण भएको उहाँको भनाई छ ।
अदातलले सुरु गरेको स्वचालित पेसी तोक्ने व्यवस्थाले न्यायलयप्रतिको विश्वास बढ्ने, कार्यसम्पादन र प्रगतिमा सुधार हुने, वार्षिक लक्ष्यप्राप्तिमा सहज हुने अपेक्षा गरिएको अदालतका स्रेस्तेदार रेग्मीले उल्लेख गर्नुभयो । अदालतले मुद्दाको विषय, प्रकृति र सम्पादन गर्नुपर्ने अवधिअनुसार वर्गीकरण गरेर पेसी हुने दिनसमेत निर्धारण गरेको छ ।
आइतबार बालबालिकासम्बन्धी, सोमबार र मङ्गलबार छ महिनाभित्र टुङ्ग्याउनुपर्ने, बुधबार एक वर्षभित्र र बिहीबार दुई वर्षभित्र टुङ्गो लगाउनुपर्ने मुद्दाहरु हेरिने जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो । बालबालिकासँग सम्बन्धित र १८ महिना काटेका मुद्दाको हकमा प्राथमिकता दिएर काम गर्नुपर्ने भएकाले प्रणालीले सोहीअनुसार पेसी चढाउने गरेको उहाँले बताउनुभयो ।
एक वर्षअघि सर्वोच्च अदालतले अभ्यास थालेको स्वचालित पेसी म्याग्दी जिल्ला अदालतमा पनि लागू गरिएको हो ।