
महाशिवरात्रि पर्व आज (बुधबार) हिन्दुधर्मावलम्बीले आराध्यदेव महादेवको पूजा-आराधना गरी मनाएका छन् ।
महादेवको पूजा-आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भिड लागेको थियो । आजको दिनमा नदीमा स्नान गरी शुद्ध भई बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने चलन छ ।
बिहानैबाट भक्तजन पशुपतिनाथको पूजा गर्न लामबद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।
फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
आज देशभरका शिवालय, भक्तपुरको डोलेश्वर, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव, बाँकेको बागेश्वरी, सुर्खेतको लाटीकोइलीस्थित शिव मन्दिरलगायत शिवालयमा भक्तजन पूजाका लागि पुगेका थिए ।
त्यसैगरी पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो । तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर,सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, रामपुरलगायत शिवालय मन्दिरमा भगवान शिवको पूजाआजा तथा भजन-कीर्तन गर्ने भक्तजनको घुइँचो लागेको हो ।
भैरहवा आसपासका शिवालयमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । भैरहवाको नारायण स्थान, प्रकटेश्वर महादेव, सिद्धबाबालगायत स्थानमा भक्तजनको भिड लागेको थियो । यसैगरी जनकपुरस्थित बाबा भूतनाथ महादेव मन्दिरमा पनि भक्तजन पूजाका लागि पुगेका थिए ।
पूजा आराधनाका लागि पशुपतिनाथलगायत शिवालय पुगेका दर्शनार्थीहरुलाई सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको थियो ।
यो पनि…
सैनिक मञ्चमा युद्धकला र तोप बढाइँ [२३ तस्बिर]
पशुपतिसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
जय शम्भु : पशुपतिमा साधु-सन्त (हेरौं २४ तस्बिर)
पशुपतिनाथमा दर्शनार्थीको घुइँचो [फोटो फिचर]
पाल्पाको सिद्धबाबालगायत शिव मन्दिरमा भक्तजनको घुइँचो
शिवरात्रिको अवसर पारेर मेलम्चीको पानी बागमतीमा हालियो
भक्तपुरको डोलेश्वरमा भक्तजनलाई प्रसादको व्यवस्था, दर्शनका लागि चारै ढोका खुला