म्याग्दी, भदौ ७ :

मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । 

दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क एक- एक थान विद्युतीय चुलो वितरण गरिएको बताउनुभयो ।

दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास थालेको उहाँको भनाई छ । अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्ट सहित वडाका जनप्रतिनिधिले बुधबार सम्बन्धित वडामा पुगेर चुलो वितरण गर्नुभएको हो  ।

विद्युतीय चुलो खरिदका लागि गत वर्ष आठ लाख रुपैयाँ विनियोजन गरेको लोमान्थाङ गाउँपालिकाले यस वर्ष पनि बजेट व्यवस्था गरेर बाँकी तीनवटा वडाका सबै परिवारलाई वितरण गरिने जनाएको छ ।