
निरन्तरको वर्षापछि भारतको असममा आएको बाढीका कारण अवस्था झनै बिग्रँदै गएको छ । बाढीको पानी विभिन्न क्षेत्रमा पुगिरहेको छ, जसका कारण जनधनको क्षति हुने क्रम पनि बढिरहेको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।
असम राज्य विपद् व्यवस्थापन प्राधिकरणले एक प्रतिवेदनमार्फत भनेको छ कि- राज्यका २१ जिल्लामा अहिले १५०६ गाउँ बाढीमा डुबेका छन् । पछिल्लो चौबीस घण्टामा बाढीमा डुबेर राज्यमा थप ६ जनाको मृत्यु भएको छ । यसरी पछिल्लो ५ दिनमा असम राज्यमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
विपद् विभागले मंगलबार साँझ बाढीको अवस्थाबारे जारी गरेको प्रतिवेदनअनुसार यस समयमा राज्यमा ६ लाख ३३ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । जबकि बाढीमा सबैथोक गुमाएका करिब ४० हजार विस्थापितलाई राज्यका विभिन्न भागमा खोलिएका ५११ राहत शिविरमा राखिएको छ ।
श्रीभूमि जिल्ला (पहिले करिमगन्ज) मा मात्र ९४ हजारभन्दा बढी सर्वसाधारण बाढीबाट प्रभावित भएका छन् ।
पछिल्ला केही दिनदेखि निरन्तर वर्षाका कारण पूर्वोत्तरका धेरै राज्यहरू बाढी र पहिरोको चपेटामा परेका छन् ।
मणिपुरमा पनि बाढीको अवस्था चिन्ताजनक छ । जहाँ १.६ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।
भारतीय मौसम विज्ञान विभागले जुन ५ सम्म असमका साथै मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुरामा भारी वर्षा जारी रहने चेतावनी दिएको छ । -बीबीसी