
सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् ।
सभामुखले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरे ।
सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक-पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाए । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे ।
प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले आइतबारै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिए ।
सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्याएका छन् ।
यही जेठ १५ गते संसद्को संयुक्त बैठकमा बजेट भाषण भएयता प्रतिनिधि सभा बैठक बस्न सकेको छैन । संसद सुरु हुन नसकेपछि बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । आज प्रतिनिधिसभा बैठक १ बजेका लागि तय गरिएको छ । यद्यपि बैठक बस्ने सम्भावना भने देखिँदैन ।