काठमाडौं, जेठ ३० :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार पठाइएको छ। गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार थुनामा पठाइएका अन्य प्रतिवादीहरूमा कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेत छन्।

तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले उनीहरूलाई विभिन्न समय र स्थानबाट पक्राउ गरेको थियो। त्यस दिनको प्रदर्शनमा एकजना पत्रकारसहित दुईजनाको मृत्यु भएको थियो । साथै निजी र सार्वजनिक गरी करोडौंको क्षति पुगेको आरोप छ।