
पछिल्ला वर्षहरूमा सार्वजनिक जीवनमा सक्रिय र चिनिएका थुप्रै व्यक्ति विभिन्न अभियोगमा मुछिएका छन् । उनीहरुलाई प्रहरीले खोजी गरे पनि फेला पार्न सकेका छैनन् । अभियुक्तहरुलाई फरारको सूचीमा राख्दै खोजी जारी रहेको प्रहरीको दाबी छ ।
ती फरार अभियुक्तहरु कहाँ छन् प्रहरीलाई पत्तो छैन । यदि प्रहरीलाई पत्तो भएको भए उनीहरुलाई नियन्त्रणमा लिएर कानुनी कठघरामा उभ्याउने थिए होला । तर अहिले केही चर्चित अभियुक्तलाई प्रहरीले भेटाउन सकेको छैन । उनीहरु फरारकै अवस्थामा छन् ।
कानुन सबैका लागि बराबर भन्ने भनाइ व्यवहारत: शंकाको घेरामा छ । अभियोग लगाइएकाहरु आफ्नो पहिचान, शक्ति वा पहुँच भएका व्यक्तिहरूसँगको सम्बन्धका कारण वर्षौंसम्म कानुनको सम्पर्कबाहिर बस्न सफल भएका छन् ।
बलात्कारको अभियोग लागेका मधेस प्रदेशका पूर्वप्रमुख तथा पत्रकार राजेश झा अहिराज फरार छन् । उनलाई प्रहरीले फरार अभियुक्तको सूचीमा दर्ज गरेको छ । अहिराजले काठमाडौंको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको खबर थाहा पाएलगत्तै फरार भए । अहिले उनी भारत पुगेको आशंका गरिएको छ । तर प्रहरीले अनदेखा गरेको हो या पक्रन नचाहेको हो, अहिराज कानुनको दायरामा पर्न सकेका छैनन् ।
यस्तै सहकारी ठगीका मुख्य आरोपी हुन् जीबी राई । उनी लामो समयदेखि फरार छन् । उनीविरुद्ध दर्जनौँ पीडितले उजुरी दिएका छन् । तर राईमाथि कानुनी कारबाही अगाडि बढ्न सकेको छैन । उनीसँगै गोरखा मिडियामा प्रबन्ध निर्देशक (एमडी) को भूमिकामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगीको मुद्दामा अहिले रुपन्देहीको जेलमै छन् । यस्तै अर्का साझेदार छविलाल जोशी पनि जेलमै छन् । रवि र छविको मुद्दाको टुंगो लागिसकेको छैन । खाई-नखाई सर्वसाधारणले जम्मा गरेको पैसा फिर्ता भएको छैन । लामिछाने स्वयंले सहकारीको रकम आफूले हिनामिना नगरेको भई जीबी राईले गरेको भन्दै इन्कार गरिरहेकै छन् । उता जोशीले भने यसको दोषी आफू नभई लामिछाने र राई नै हुन् भन्ने गरेका छन् । तर रवि र छवि दुवै दोषी देखिएसँगै अदालतले जेलमा राखेर अनुसन्धान अघि बढाउनू भनेपछि उनीहरु जेलको छिँडीमा पुगेका हुन् ।
फरारहरू पत्ता नलाग्नुभन्दा नपक्रनुचाहिँ नीति वा दबाब हो कि भनेर बुझ्न सकिन्छ ।
यता चर्चित पत्रकार दिलभूषण पाठकमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत गैरकानुनी सामग्री प्रकाशन गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ । आफ्ना सामाजिक सञ्जाल र युट्युब च्यानलमार्फत प्रकाशित गरेका सामग्रीहरूलाई लिएर उजुरी परेपछि प्रहरीको खोजी सूचीमा परेका पाठक यतिबेला सार्वजनिक जीवनबाट हराएका छन् । उनी कहाँ छन् कसैलाई थाहा छैन । उनलाई नभेटेपछि प्रहरीले उनीनिकट भएर काम गर्ने सहकर्मी नारायण अर्याललाई भने पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
पाठकलाई अहिले फरारको सूचीमा राखेर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको अवस्था छ ।
यस्तै राप्रपाकी सांसद गीता बस्नेतमाथि नवलपुरको छिपछिपे उपभोक्ता सहकारी संस्था, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी संस्थाबाट करिब १६ करोड ६८ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । उनी पनि फरारकै अवस्थामा छिन् ।
यौन दुर्व्यवहार, ठगी, सार्वजनिक सम्पत्तिको दुरुपयोग, बलात्कारलगायत गम्भीर अभियोगमा मुछिएका थुप्रै व्यक्ति फरार छन् । उनीहरु विशेषगरी पहुँचवाला नै हुन् । साँच्चै प्रहरीले नदेखेको हो कि संरक्षण गरिएको हो ? भन्ने आमसर्वसाधारणको चासो छ । प्रहरीले जति पनि आरोपी र अभियुक्तहरु छन् उनीहरुको सूक्ष्म ढंगले खोजी जारी राखेको जनाएको छ । तर, फेला पार्न सकिरहेको अवस्था भने छैन ।
फरार अभियुक्तहरू लामो समयसम्म समातिन नसक्नु केवल अनुसन्धनात्मक चुनौती मात्र हो त ? यो प्रश्न उठ्नु स्वाभाविक छ । जब अभियुक्तहरू खुलेआम सामाजिक सञ्जाल प्रयोग गरिरहेका वा विदेशी कार्यक्रममा देखिएका हुन्छन् । कतिपय अवस्थामा प्रहरीलाई उनीहरूको ठेगाना थाहा हुँदाहुँदै पनि पक्राउ नगर्ने प्रवृत्तिलाई संरक्षणको संज्ञा दिन सकिन्छ ।
स्रोतहरूका अनुसार कतिपय फरार अभियुक्तहरु राजनीतिज्ञ, व्यवसायी वा प्रहरी प्रशासनसँग निकट रहेको देखिन्छ । जसले उनीहरूलाई कानुनको पहुँचबाट टाढा राख्न मद्दत गरिरहेको अनुमान गर्न सकिन्छ ।
प्रविधिको यो युगमा कोही पनि लुकेर बसिरहने सम्भावना अत्यन्त न्यून छ । मोबाइल लोकेसन, पासपोर्ट इन्ट्री, सामाजिक सञ्जाल गतिविधि, बैंक कारोबार आदिबाट व्यक्तिको अवस्था ट्रयाक गर्न सकिन्छ । त्यसैले फरारहरू पत्ता नलाग्नुभन्दा नपक्रनुचाहिँ नीति वा दबाब हो कि भनेर बुझ्न सकिन्छ ।
विदेशमा बसेका फरार अभियुक्तहरूलाई इन्टरपोलका माध्यमबाट ल्याउन सकिने प्रावधान स्पष्ट छ । इन्टरपोल रेड नोटिस जारी गरेर सदस्य राष्ट्रहरूमा बसेका अभियुक्तहरू पक्राउ गराउने व्यवस्था भए पनि नेपालमा यसको प्रयोग नगन्य मात्रामा भएको छ । यसमा कमजोर राजनीतिक इच्छाशक्ति हो वा पहुँचवालामाथि मुद्दा परेको अवस्थामा राजनीतिक दबाब पर्ने गरेको हो बुझ्न सकिएको छैन ।
फरार रहँदा अभियोग निष्क्रिय हुन्छ ?
प्रहरी स्रोतका कानुनअनुसार अभियुक्त फरार रहँदैमा अभियोग निष्क्रिय हुँदैन । तर, म्यादको सीमाका कारण मुद्दा अगाडि बढाउन ढिलाइ हुँदा न्यायमा अवरोध पुग्न सक्छ । कतिपय मुद्दामा प्रमाण संकलनमा समस्या आउँछ भने कतिपयमा पीडित नै थाकेर पछि हट्ने अवस्था आउँछ ।
नेपालमा फरार अभियुक्तहरूको मुद्दा केवल प्रहरी प्रशासनको कमजोरी होइन, संस्थागत संरक्षण, राजनीतिक हस्तक्षेप र कानुनी अलमलको नतिजा पनि हो । जब चर्चित वा पहुँचवालाहरू फरार रहँदा पनि उनीहरूविरुद्ध कारबाही हुँदैन, त्यसले कानुनी राज्यको अवधारणा कमजोर बनाउँछ ।
यदि राज्य संयन्त्रले गाम्भीर्य देखाउन सकेन भने, समाजमा ‘अपराध गरे पनि कानुनको फन्दाबाट उम्किन सकिन्छ’ भन्ने सन्देश जानेछ । जसको असर सिंगो लोकतान्त्रिक मूल्य प्रणालीमाथि पर्न सक्छ ।
