बेल्जियम, साउन २६ :

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन् ।

नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको युरोपभरिका जनसम्पर्क समितिका प्रतिनिधि भेलामा उनले बेल्जियम युरोपको केन्द्रविन्दुमा रहेको र धेरै प्रतिबद्ध साथी सक्रिय रहेकाले बेल्जियम समितिको भूमिका युरोपमा अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।

युरोपका विभिन्न जनसम्पर्क समितिलाई थप क्रियाशील बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले आफू पूर्वी युरोप (रोमानिया, क्रोएसिया, हंगेरी, अल्बानिया, बुल्गेरिया) मा जाँदा ठुलो संख्यामा नेपाली रहेको र ती ठाउँमा जनसम्पर्क समिति विस्तार गर्न जरुरी भएको बताए ।

जहाँ पहिलेदेखि जनसम्पर्क समिति छ र नेपालीहरूको पहिलो पुस्ताबाट दोस्रो पुस्तामा प्रवेश गरेका छन्, ती देशहरूमा समितिहरूलाई थप सक्रिय गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए । उनले डेनमार्कमा देखिएको समस्या समाधान भई संगठन निर्माण र जनसम्पर्क समितिको उपस्थितिलाई विस्तार गर्ने तथा एकीकृत गर्ने दिशामा जानुपर्नेमा जोड दिए ।

नेपालको राजनीति र डायस्पोराको प्रभाव
कांग्रेस प्रवक्ता महतले युरोप, अमेरिका, मध्यपूर्व र दक्षिण-पूर्व एसियामा ठुलो संख्यामा नेपाली बस्ने भएकाले अब नेपालको राजनीतिलाई मात्र हेरेर नपुग्ने बताए । पार्टीहरूले नेपालबाहिर पनि नेपाल छ भन्ने कुरा आत्मसात् गर्न जरुरी रहेको र नेपाली कांग्रेसले यसलाई आत्मसात् गरिरहेको उनको भनाइ थियो ।

विदेशमा बस्ने नेपालीको नेपालसँग प्रत्यक्ष सम्बन्ध, परिवार, नातागोता र प्रभाव भएकाले उनीहरूको चासो र चिन्तालाई सम्बोधन नगरे निर्वाचनमा त्यसको प्रभाव पर्ने सक्ने कुरामा उनको जोड थियो ।

सामाजिक सञ्जालको प्रभाव र विदेशमा बस्ने नेपालीको निर्णयले नेपालमा बस्ने परिवारका सदस्यहरूको मतलाई प्रभावित गर्ने हुँदा पार्टीले विदेशमा बस्ने नेपालीहरूलाई विशेष रूपमा हेर्न जरुरी रहेको महतको भनाइ थियो ।

उनले विदेशमा बस्ने नेपालीको विषयमा निर्णायक कुरा गर्ने पार्टी कांग्रेस नै भएको दाबी पनि गरे । गैरआवासीय नेपाली नागरिकता : संविधानसभाको दुवै कार्यकालमा आफू मस्यौदा समितिको सदस्य हुँदा राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार गैरआवासीय नेपालीहरूलाई दिन धेरै कठिन भएको तर नेपाली कांग्रेसले नै त्यसको नेतृत्व गरेको स्मरण गराए । उनले कानुन बन्न ढिलाइ भएको स्वीकार गर्दै, कानुन बनेपछि राजनीतिकबाहेक सम्पूर्ण अधिकार सुरक्षित हुने बताए ।

उनले व्यक्तिगत रुपमा दोहोरो नागरिकताको पक्षमा रहेको र यसबाट नेपाललाई घाटा नहुने विश्वास व्यक्त गरे । यसले नेपालीलाई नेपालसँग जोडिरहने थप आधार दिने उनको तर्क थियो । यद्यपि यसका लागि देशभित्रका विभिन्न सरोकारवालालाई बुझाउन समय लाग्ने तर ढिलो-चाँडो यो कार्यान्वयन हुनेमा उनी विश्वास थियो ।

नेपाली कांग्रेसले नागरिक अधिकार, विधिको शासन र जनताको अनुमतिविना सत्तामा जान नपाउनेजस्ता नीति स्थापित गरेको उनले बताए । आर्थिक रुपान्तरण र लगानीको नेतृत्व पनि कांग्रेसले नै गरेको उनले उल्लेख गरे ।

पार्टीको समस्या नीति सिद्धान्तमा नभई संगठनमा रहेको उनले बताए । व्यक्तिवादी प्रवृत्ति र एक-अर्कालाई फसाउन ऊर्जा खर्च गर्ने प्रवृत्ति प्रमुख समस्या रहेको औंल्याउँदै महतले पार्टीको आधिकारिक निर्णयलाई लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले कांग्रेसले कुनै नेतामाथि आरोप लागेमा संगठित रूपमा प्रतिरक्षा नगर्ने र निर्दोष साबित उसैले गर्नुपर्छ भन्ने मान्यता राख्ने बताएका छन् । कानुनको सिद्धान्तलाई आफूहरूले पक्षपोषण गरेको र कसैमाथि आरोप लागेमा उसैले निर्दोष साबित गर्नुपर्ने उनको भनाइ थियो ।

सामाजिक सञ्जालको प्रयोगले झुटो कुरा स्थापित भइरहेको र नयाँ पुस्तामा नकारात्मकता फैलिरहेको सन्दर्भमा सामाजिक सञ्जालमा सक्रिय नेपाली कांग्रेसका सदस्यहरूलाई सामूहिक रूपमा पार्टीका सकारात्मक कुराहरू राख्न उनले अनुरोध गरे ।

नेतृत्वमा सबै कुरा केन्द्रित गर्ने कमजोरी स्वीकार गर्दै सम्बन्धित विभागले आफ्नो काम गर्नुपर्नेमा जोड दिँदै महतले संगठनको कमजोरी र व्यक्तिवादी प्रवृत्ति हटाउन जरुरी रहेको बताए । उनले जनसम्पर्क समितिका नेतृत्वमा रहेका साथीहरूलाई गर्वका साथ पार्टीका कुराहरू राख्न र डिफेन्सिभ नहुन अनुरोध गरेका छन् ।

त्यस अवसरमा नेपालमा ठुलो सम्भावना रहेको र विकासका धेरै अवसर रहेको उनले बताएका छन् । आईटी क्षेत्र, आधुनिक प्रविधियुक्त कृषि र पर्यटनमा लगानीको सम्भावना रहेको औंल्याए ।

गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न र नेपालसँग जोडिरहन महतले अनुरोध गरे । उनले नयाँ पुस्तालाई नेपालबारे शिक्षित गराउनुपर्नेमा जोड दिए ।

सरकारमा जानु पार्टीको उद्देश्य हुने तर मिश्रित निर्वाचन प्रणालीका कारण एउटै पार्टीको बहुमत आउने सम्भावना कम हुने भएकाले गठबन्धन आवश्यक भएको उनको तर्क थियो । २०७४ को निर्वाचनमा एक्लै लड्दाको अनुभवले गठबन्धनको आवश्यकता पुष्टि भएको उनको भनाइ थियो । उनले गठबन्धन गर्ने निर्णय पार्टीमा सबैको सहमतिमा भएको र यसमा कसैलाई दोष दिने कुरा नरहेको स्पष्ट पारे ।

एनआरएनए अन्तर्राष्ट्रिय रुपमा आफूलाई चिनाउने थलो बन्न थालेको र अनावश्यक विभाजन आएको बताउँदै सर्वोच्च अदालतको आदेशअनुसार अघि बढ्नुपर्ने र यसलाई पालना गर्नुपर्नेमा जोड दिए । जनसम्पर्क समितिका सदस्यहरू एनआरएनएमा जाँदा सबैको साझा भएर काम गर्नुपर्ने तर प्रतिनिधित्व कांग्रेसको तर्फबाट आएकाले आफ्नो काम गर्ने शैलीमा ओरिएन्टेसनमा फरक पर्ने बताएका छन् ।

त्यस अवसरमा डा.महतले नयाँ पुस्तालाई नेपालसँग र पार्टीसँग जोड्न युवा कमिटीहरू बनाएर अभियान चलाउनुपर्नेमा जोड दिए । अधिवेशनहरू समयमै सम्पन्न गरेर नयाँ नेतृत्वलाई अवसर दिनुपर्नेमा पनि उनको जोड थियो । उनले आफूले व्यक्त गरेका कुराहरू व्यक्तिगत वा गुटगत नभई पार्टीलाई मजबुत बनाउने र पार्टीका समस्या समाधान गर्नेतर्फ केन्द्रित रहेको स्पष्ट पारे ।