काठमाडौं, भदौ १९ :

नेकपा एमालेको विधान महाधिवेनशन भोलिदेखि सुरु हुँदैछ।  ललितपुरको गोदावरीस्थित सनराइज हलमा भोलि हुने महाअधिवेशनको पार्टी अध्यक्ष एवं  प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुने छन्।

महाधिवेशनलाई लक्षित गरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट फरक दस्तावेज तयार भएको छ। स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा २७ पृष्ठको काउन्टर दस्तावेज दर्ता गराएका हुन्।

थापाले यो दस्तावेजलाई अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, र महासचिवको सांगठनिक प्रतिवेदनको वैकल्पिक प्रतिवेदन (काउन्टर डकुमेन्ट) भनेका छन्।

विधानबाट कार्यकाल सीमा र उमेर हद हटाएर ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बनाउन लागिएको भन्दै त्यसको खुला आलोचना गरिएको छ। थापाले यसलाई संविधान र विधानविपरीतको निर्णय भन्दै सच्याउनुपर्ने माग राखेका छन्।

दस्तावेजमा पार्टीमा बहस, छलफल, समावेशिता नभएको र सचिवालयद्वारा निर्णय थोपरिने प्रवृत्ति बढेको भन्दै गम्भीर आपत्ति जनाइएको छ। यो प्रवृत्ति जनताको बहुदलीय जनवाद (जबज) को मान्यताविपरीत भएको थापाको भनाइ छ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि छुट्टै दस्तावेज महाधिवेशनमा लैजाँदै छन्। यसले पार्टीभित्र विचार र नीतिगत मतभेद चर्किँदै गएको संकेत गर्छ।
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयमा पार्टी उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले नोट अफ डिसेन्ट लेखेका थिए। तर, पार्टीले तल्ला कमिटीमा पठाएको विवरणमा उनीहरूको फरक मत समावेश गरिएको थिएन।

मुख्य असहमति र मागहरू

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगरेको निर्णयप्रति असहमति

लोकतान्त्रिक अभ्यास कार्यान्वयनमा जोड

एउटै पदमा २ कार्यकालको सीमा

७० वर्षे उमेरहद कायम गर्ने प्रस्ताव

सचिवालयद्वारा गरिएको एकल निर्णय प्रणालीको विरोध