असोज १४ :

भारतको लाहा कारखानामा सात वर्ष रोजगारी गरेपछि गौरादह नगरपालिका–२ का डम्बर विश्वकर्मालाई आफ्नै देशमा यस्तै उद्यम गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी जाग्यो ।

त्यही चाहनाले २०७५ सालमा विश्वकर्माले स्वदेशमा नै पौरख गर्ने सोचका साथ गौरादह–९ मा अढाई बिगाहा जग्गा भाडामा लिएर लाहाखेती सुरु गरे । हाल उनले खेती विस्तार गरेर पाँच बिगाहा पुर्याएसँगै निर्मल चप्रा उद्योग सञ्चालन गरिरहेका छन् ।

सरकारी कागजपत्र सिलबन्दी गर्नुपर्दा होस् या घरेलु हातहतियारको बिँड लगाउन नै किन नहोस्, लाहा नभई हुँदैन । परम्परागत काममा मात्र नभएर फर्निचरको रङरोगन, सुनका गहना निर्माण, जुत्ताको पोलिसलगायतका काममा लाहाको प्रयोग हुँदै आएको छ ।

नेपालमा परम्परागत रुपमा पहाडी भागमा कतैकतै सानो मात्रामा लाहाखेती हुँदै आए तापनि व्यावसायिक रुपमा लाहाखेती सुरु गरेको श्रेय ६० वर्षीय विश्वकर्माले नै पाउँदै आएका छन् । “खेती सुरु गर्दा छिमेकीले पनि पत्याएनन्,” उनी लाहाखेती भित्र्याउँदाको अनुभव सुनाउँदै भन्छन्, “रूखमा फल्छ कि जरामा भनेर मेरो खिल्ली उडाउनेहरु पनि थिए । अरू खेतीपाती गर्न छाडेर बेकारमा लाहाखेती गरेको भनेर मलाई सम्झाउनेहरु अहिलेको प्रगति देखेर अचम्म मान्छन् ।”

लाहा एक प्रकारको परजीवी किरा हो । यसले बयर, खयर, पिपल, सेमियलता, रहर, किम्बुलगायतका विभिन्न प्रजातिका बोटबिरुवाको हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्दछ । जीवन चक्र पूरा गर्ने क्रममा कच्चा लाहा उत्पादन हुन्छ । विश्वकर्माले सेमियलता नामको बिरुवामा लाहा उत्पादन गर्दै आएका छन् ।

विश्वकर्माको बैगुनधुरास्थित लाहाखेती टाढाबाट हेर्दा उखुखेती जस्तै देखिन्छ । बाक्लै बिरुवाहरु झाँगिएका छन् । तर खेतीमै पुगेर नियालेर हेर्यो भने हरेक बोटमा लाहाको किरा सलबलाएको प्रस्टै देख्न सकिन्छ । “रोजगारीका क्रममा भारतको लाहा कारखानामा लामो समय काम गरेँ,” उनी भन्छन् “लाहाखेती कसरी हुन्छ, कारखानामा प्रशोधन कसरी हुन्छ भन्ने सिकेपछि मलाई आफ्नै देशमा लाहाखेती गर्ने रहर जाग्यो ।”

नेपालमा पहिलो व्यावसायिक लाहाखेती सुरु गर्नुभएको विश्वकर्माले वार्षिक आठदेखि १० हजार किलोग्राम कुसुम लाहा उत्पादन गर्दै आएका छन् । यो उत्पादन स्थानीय बजारमा नै खपत हुने गरेको उनले बताए । उनले रु २० लाखको प्रारम्भिक लगानीमा निर्मल चप्रा उद्योग स्थापना गरेका हुन् । हाल उद्योगले दैनिक ३५ केजी प्रशोधित लाहा उत्पादन गर्दै आएको छ । उद्योगको उत्पादनले स्थानीय माग नै धान्न नसकेको अवस्था छ । उद्योगमा सात जनाले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरेका छन् । डिभिजन वन कार्यालय झापाले स्थापनाकालमा उद्योगलाई रु चार लाख अनुदान दिएको थियो ।

उनले आफू मात्र होइन, झापा र जिल्लाबाहिर धनकुटा, भोजपुर, तेह्रथुमलगायत किसानलाई लाहाखेतीसम्बन्धी प्रशिक्षण दिएर लाहाखेतीको विस्तारमा योगदान पर्याएका छन् ।  हाल झापाको बाहुनडाँगी क्षेत्रमा खेती विस्तार भइरहेको छ । पाँचपोखरी र नवज्योति सामुदायिक वनले व्यावसायिक लाहाखेतीप्रति सुरु गरेका छन् । रङ्गीन र कुसुम गरी दुई किसिमको लाहाखेती हुने गरेको छ । विश्वकर्माले उत्पादन गर्दै आएको कुसुम लाहा बजारमा प्रतिकेजी रु एक हजार मूल्यमा बिक्री हुँदै आएको छ । रङ्गीन लाहा प्रतिकेजी रु ७०० मा बिक्री हुन्छ । लाहाखेती हुनुभन्दा पहिले नेपालीहरु भारतमा पूर्ण रुपमा निर्भर थिए । तर अहिले झापा, भोजपुर, तेह्रथुमलगायत जिल्लामा यसको खेती हुन थालेपछि लाहामा अब आत्मनिर्भरतातर्फको यात्रा सुरु भएको छ । नेपालमा बर्सेनि रु २० करोडभन्दा बढी मूल्यको लाहा आयात हुँदै आएको छ ।

लाहाखेती र यसको विषयमा भन्सार र प्रहरीको को अनभिज्ञताका कारण गत वर्ष भारतबाट यसको बीउ आयात गर्दा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनले गुनासो गरे । “बीउका लागि अहिले पनि भारतमा निर्भर हुनु परेको छ,” उनले सुनाए, “गत वर्ष छ क्विन्टल लाहाको बीउ ल्याएको थिएँ । भन्सारले पाँच दिनसम्म रोकेर राखिदियो । जबकि ४८ घण्टाभित्र बीउ रूखको हाँगामा लगेर सारिसकेको हुनुपर्छ । भन्सारमा नै लाहा किरा मरे । भन्सारले यस्तो सामानको क्वारेन्टिइन सूची नभएको बताएको थियो ।”

तराईको १५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको पानी नजम्ने भूभागमा लाहाखेती फस्टाउने उहाँले बताउनुभयो । पछिल्लो समय भारतबाट बीउ आयातमा सकस भएका कारण नेपालमा लाहाखेतीका निम्ति चुनौती थपिएको उनको भनाइ छ । बाँके, बर्दिया, हेटौँडा, पोखरालगायतका स्थानबाट कुसुम लाहाखेती अवलोकन गर्न मानिसहरु गौरादह आउने गरेका छन् । विश्वकर्माले नयाँ किसानलाई तालिम दिन सक्ने आफ्नो क्षमता भए पनि लाहाखेतीको विस्तार र रोजगारी सिर्जनाका लागि कसैले रुचि नदेखाएको बताए ।

झापामा खोलाको बगरहरुमा बयरका बोट लगाएर लाहाखेती गर्न सकिने उनले सम्भावना व्यक्त गर्नुभएको छ । कनकाई, बिरिङ, निन्दा, मेची, रतुवालगायतका नदीको फराकिलो बगरमा बोटबिरुवा हुर्काएर लाहाखेती गर्न सकिने उनको भनाइ छ । सामुदायिक वन र प्राकृतिक वन क्षेत्रको खाली स्थानमा समेत लाहाखेतीको सम्भावना छ । स्थानीय तहले आफ्नो क्षेत्रमा यसका लागि सक्रियता देखाउने हो भने नेपाल लाहामा आत्मनिर्भर बन्न सक्छ । लाहा वर्षमा दुई याममा उत्पादन हुने गरेको छ । पहिलो याम असार र साउन भएको जनाउँदै उनले दोस्रो याम मङ्सिर र पुस रहेको बताए । एकपटक लगाएको लाहाले धेरै वर्षसम्म उत्पादन दिइरहने भएकाले रोजगारीका लागि यसको खेती लाभदायक हुने उनी बताउछन् ।

झापा र भोजपुरमा डिभिजन वन कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा विष्णुलाल घिमिरेले लाहाखेतीतर्फ स्थानीय समुदाय र सामुदायिक वनलाई प्रोत्साहित गरेका थिए । लाहाखेती गर्न इच्छुकहरुका लागि डिभिजन वन कार्यालयले अनुदान सहयोगसमेत दिने गरेको थियो । खेतीको विस्तार गरेर नेपाललाई लाहाका लागि आत्मनिर्भर बनाउने अभियानको खाँचो रहेको जनाउँदै घिमिरेले कोशी प्रदेशको चतराको फराकिलो बगरदेखि राजमार्ग उत्तर र साबिक मेची अञ्चलको जिल्लाहरुमा यसको खेती फस्टाउने बताए। रुखो र पाखो भन्दै जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै समुदायलाई लाहाखेतीमा आकर्षित गर्नसके मुलुकको बेरोजगारी घटाउन सफलता मिल्ने उनको धारणा छ । मधेसको शिरिष, वडहर, कुसुम, खयर, बयरलगायतका कोमल बोक्रा भएका बोटबिरुवामा लाहाको खेती राम्रो हुने उहाँ बताउनुहुन्छ । लाहाको पोथी कीराले निकाल्ने र्याल जस्तो चोपबाट लाहा उत्पादन हुन्छ ।

मोरङको लेटाङमा खेती विस्तार

मोरङ जिल्लामा लाहाखेती विस्तार हुन थालेको छ । मोरङको लेटाङ–८ लालझोडास्थित लालहिरा सामुदायिक वनमा लाहाको व्यावसायिक खेती सुरु गरिएको छ । तराईका सामुदायिक वन र बाँझो रहेका बगर खेतहरुमा लाहाखेती विस्तार गर्नसके रोजगारी र आम्दानी बढ्ने सम्भावना देखिएको छ । केही सामुदायिक वनले यसको महत्व बुझ्दै गएका कारण लाहाखेतीमा हात हाल्न थालेका छन् ।

सामुदायिक वनको आयवृद्धि गर्ने उद्देश्यले दुई वर्षदेखि लाहाखेती भइरहेको लालहिरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नेत्रकुमार राईले बताए । उनले वनभित्रको दुई बिगाहा जग्गामा सेमियलताका पाँच हजार बिरुवा हुर्काइएको र त्यसमा लाहाका किरा सारिएको जानकारी दिए । “कम लागतमा बढी आयआर्जन गर्न सकिन्छ भनेर लाहाखेती गरेका हौँ,” उनले भने ।