काठमाडौं, असोज २८ :

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार महराको मंगलबार (आज) बयान सकिएपछि अब बुधबार थुनछेक बहस हुने छ।

बयान सकिए पनि मुद्दाको टुंगो नलागेकाले महरा आज पनि थुनामै रहने जनाइएको छ।

महरालाई आइतबार चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो। दुबईबाट भित्र्याइएको करिब ९ किलो सुन विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको थियो। उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो।

करिब ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन छुटाउन महरा र उनका छोरा राहुल महरा सक्रिय रूपमा खटिएको अनुसन्धानमा खुलेको छ।

यस प्रकरणमा महरा बाहेक अन्य केही व्यक्ति पनि अनुसन्धानको दायरामा छन्।