काठमाडौं, कात्तिक ४ :

नेकपा एमालेले वर्तमान सरकारले तोकिएको समयमा चुनाव गराउन सक्दैन कि भन्ने गम्भीर आशंका व्यक्त गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सर्वदलीय बैठकमा एमालेले यस्तो चिन्ता उठाएको हो।

बैठकमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी थिए। एमाले नेताहरूले चुनावको स्पष्ट विरोध भने नगरे पनि समयमै निर्वाचन सम्पन्न गर्ने सरकारको क्षमता प्रति शंका व्यक्त गरे।

सरकारका प्रवक्ता जगदीश खरेलले भने, ‘एमाले नेताहरूले चुनाव चाहिएको बताएका छन्, तर यो सरकारले त्यसको तयारी र वातावरण बनाउन सक्दैन कि भन्ने आशंका जनाएका छन्।’

प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न दलसँग परामर्श गर्न सर्वदलीय बैठक बोलाएकी हुन्। चुनावको मिति नजिकिँदै जाँदा दलहरूबीच आपसी विश्वास र तयारीका विषयमा सरकार छलफलमा रहेको छ।