
नेकपा एमालेले विघटित प्रतिनिधिसभामा रहेका आफ्ना सांसदहरूको बैठक मंसिर २ गतेका लागि बोलाएको छ। प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारीमा रहेको एमालेले हालको राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक आह्वान गरेको हो।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठक मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्नेछ।‘मुलुकमा विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो,’ बर्तौलाले जानकारी दिए।
गत भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिपछि सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको थियो। सो निर्णयसँगै आगामी फागुन २१ गते नयाँ निर्वाचन गर्ने घोषणा गरिएको थियो।
तर, प्रतिनिधिसभा विघटन र कार्कीको नियुक्ति संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा हालसम्म १७ वटा रिट निवेदन दर्ता भएका छन्। तीमध्ये सबै रिटहरूमा प्रतिनिधिसभा पुनःस्थापनाको माग गरिएको छ।