
नेकपा एमालेका नेता महेश बस्नेतले नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड दैनिक पाँच घन्टा बन्द गर्ने सरकारी निर्णय एमालेको महाधिवेशन लक्षित ‘प्रतिशोधमूलक कदम’ भएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले योजनाबद्धरूपमा एमालेको मंसिर २७–२९ गते हुने महाधिवेशन प्रभावित पार्न खोजेको दाबी गरे।
सरकारले मंसिर २४ देखि पुस १ गतेसम्म गजुरीअन्तर्गत पोखरेभिर क्षेत्रको सडक चौडाइ विस्तारका नाममा नागढुंगादेखि पिप्लामोड र पोखरेभिर क्षेत्रमा हरेक दिन बिहान १०:३० देखि दिउँसो ३:३० बजेसम्म यातायात बन्द गर्ने तयारी गरेको छ। यही निर्णयलाई बस्नेतले ‘पूरी रूपमा गलत उद्देश्यप्रेरित’ भन्दै फिर्ता लिन सरकारसँग माग गरेका छन्।
‘एमाले महाधिवेशन बिथोल्ने नियतसहित सरकारले गरेको कदम प्रतिशोधको राजनीति हो,’ बस्नेतले भने, ‘याद रहोस्, प्रतिशोधको बदला प्रतिशोधनै हुनेछ।’ उनले काम पुसको पहिलो सातादेखि मात्र गर्न सुरु गर्न सुझाउँदै निर्णय तत्काल फिर्ता लिन मन्त्रालय र मन्त्री घिसिङ दुबैको हित हुने दाबी गरेका छन्।
उता नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले भने निर्माण र विस्तारका काम कुनै राजनीतिक कार्यक्रम लक्षित भएर अघि नबढाइएकाे स्पष्ट पारेका छन्।
यो पनि पढ्नुहोस्
एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन