काठमाडौं, माघ ८ :

गृह मन्त्रालयले आसन्न निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको एकीकृत विवरण संकलन गरी पेश गर्न परिपत्र गरेको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयको भवन जलेर अभिलेख नष्ट भएपछि  विवरण अद्यावधिक गर्न निर्देशन दिइएको हो। गृहले माघ २ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई  परिपत्र गरी विवरण पठाउन भनेको हो ।

गत भदौ २४ मा भएको प्रदर्शन हिंसात्मक बनेपछि सिंहदरबारस्थित प्रमुख प्रशासनिक भवन पनि जलेको थियो । त्यस बखत गृह मन्त्रालयका महत्वपूर्ण दस्तावेजहरू जलेका थिए ।  त्यस्तै, सर्वसाधारणले इजाजत लिएर राखेका हतियार तथा त्यसका गोलीगठ्ठा संकलन गर्न पनि निर्देशन दिइएको छ ।  

विगतमा स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका हतियारको संख्या करिब ३५ हजार हाराहारीमा छ ।  इजाजतप्राप्त हतियार तोकिएका शर्तविपरीत प्रयोग वा बोकेर हिँड्न पाइँदैन । सार्वजनिक स्थलमा त्यस्ता हतियार लिएर हिँड्नसमेत निषेध गरिएको छ ।