
बेइजिङको ऐतिहासिक तियानआनमेन स्क्वायर वरिपरि सुरक्षा व्यवस्था केही दिनदेखि कडा बनाइएको छ।
सामाजिक सञ्जालमा विशेष परेड वा कुनै ठूलो योजनाबद्ध कार्यक्रम हुने हल्ला फैलिएको छ।
यस महत्वपूर्ण कार्यक्रमको तयारी चुपचाप सुरु भएको भए पनि, चीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि भव्य प्रदर्शन गर्न तयार देखिएको छ।
यस भ्रमणमा वार्ता, राजकीय भोज तथा टेम्पल अफ हेभेन भ्रमण समावेश हुनेछ। यो शाही मन्दिरहरूको एक परिसर हो जहाँ प्राचीन सम्राटहरूले राम्रो बालीको कामना गर्दै प्रार्थना गर्ने गर्थे।
ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ दुवैले यो भ्रमण फलदायी हुने आशा गरेका छन्। विश्वका दुई सबैभन्दा शक्तिशाली नेताबीच हुने यो शिखर भेटलाई पछिल्ला धेरै वर्षकै सबैभन्दा महत्वपूर्ण भेटमध्ये एक मानिएको छ।
धेरै महिनासम्म अमेरिका–चीन सम्बन्ध ट्रम्पका लागि प्राथमिकतामा परेको थिएन। उनको ध्यान इरानसँग जारी युद्ध, पश्चिमी गोलार्धमा सैन्य अभियान तथा घरेलु मुद्दाहरूमा केन्द्रित थियो। तर यो साता परिस्थिति बदलिएको छ। विश्व व्यापारको भविष्य, ताइवानमा बढ्दो तनाव र उन्नत प्रविधिमा प्रतिस्पर्धा अहिले दाउमा रहेको छ।
आर्थिक रूपमा हेर्दा अमेरिकासँगको जारी व्यापार युद्ध र इरानको द्वन्द्व सी जिनपिङका लागि खराब समाचार हुन सक्छ। तर वैचारिक र राजनीतिक दृष्टिले यी घटनाहरू उनको लागि अवसर जस्तै बनेका छन् र उनले आफूलाई बलियो अवस्थामा महसुस गर्नेछन्।
यो भ्रमणले आगामी वर्षहरूमा सहकार्य वा सम्भावित द्वन्द्वका लागि आधार तयार गर्न सक्छ।
इरानको फुसफुसाएर सम्झाउने शक्ति?
युद्ध तेस्रो महिनामा प्रवेश गरेसँगै चीनले शान्ति स्थापनाकर्ताको भूमिकामा चुपचाप अघि बढ्ने प्रयास गरिरहेको छ। बेइजिङले पाकिस्तानसँग मिलेर अमेरिका–इजरायल र इरानबीचको युद्धमा मध्यस्थकर्ताको भूमिका खेलेको छ।
मार्च महिनामा बेइजिङ र इस्लामाबादका अधिकारीहरूले युद्धविराम गराउने र होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित पाँच बुँदे योजना प्रस्तुत गरेका थिए। साथै, पर्दा पछाडि चिनियाँ अधिकारीहरूले इरानी समकक्षीहरूलाई वार्ताको टेबलतर्फ जान नरम ढंगले प्रेरित गरिरहेका छन्।
आफ्नो शक्ति प्रदर्शन निरन्तर गरिरहे पनि चीन यो युद्धको अन्त्य चाहिरहेको स्पष्ट देखिन्छ।
चीनको अर्थतन्त्र अहिले सुस्त आर्थिक वृद्धि र बढ्दो बेरोजगारीसँग संघर्ष गरिरहेको छ। तेलको मूल्यवृद्धिले पेट्रोकेमिकलबाट बनेका वस्तुहरू कपडादेखि प्लास्टिकसम्मको लागत बढाएको छ। चीनका केही उत्पादकहरूका लागि उत्पादन खर्च २० प्रतिशतसम्म बढेको छ।
तेहरानमा रहेको एक होर्डिङ बोर्डमा होर्मुज जलमार्गलाई डोनाल्ड ट्रम्पको मुखमा टाँकिएको पट्टीजस्तो रूपमा चित्रण गरिएको देखाइएको छ।
चीनसँग प्रशस्त तेल भण्डार छ साथै नवीकरणीय ऊर्जा र विद्युतीय गाडी क्षेत्रमा हासिल गरेको अग्रताले इन्धन संकटको ठूलो असरबाट उसलाई केही हदसम्म जोगाएको छ। तर यो युद्धले निर्यातमा अत्यधिक निर्भर सुस्त चिनियाँ अर्थतन्त्रमा थप दबाब सिर्जना गरिरहेको छ।
यद्यपि यदि चीनले अमेरिकालाई सहयोग गर्न हस्तक्षेप गर्ने हो भने त्यसको बदलामा उसले केही लाभ चाहने निश्चित छ।
गत साता इरानी विदेशमन्त्री अब्बास अराघचीको बेइजिङ भ्रमण चीनको मध्यपूर्वमा रहेको प्रभाव र पकड देखाउने प्रयासका रूपमा हेरिएको छ।
अमेरिकाले चीनको गतिविधिलाई नजिकबाट नियालिरहेको थियो। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, “म आशा गर्छु कि चिनियाँहरूले उनलाई भन्नुपर्ने कुरा भन्नेछन्। त्यो के हो भने, होर्मुज जलमार्गमा तपाईंहरूले गरिरहेको कामले तपाईंलाई विश्वव्यापी रूपमा एक्ल्याइरहेको छ। यस घटनामा दोषी तपाईं नै हो।”
तेलको मूल्यवृद्धिले चीनको निर्यात र कपडा उद्योगमा ठूलो असर पारिरहेको छ।
अमेरिकाले चीनलाई नयाँ संयुक्त राष्ट्र सुरक्षा परिषद् प्रस्ताव अवरुद्ध नगर्न पनि मनाउने प्रयास गरेको छ। उक्त प्रस्तावले होर्मुज हुँदै यात्रा गर्ने जहाजहरूमाथि इरानले गरेका आक्रमणको निन्दा गर्ने उद्देश्य राखेको थियो। यसअघि चीन र रूसले यस्तै प्रस्तावमा भिटो प्रयोग गरेका थिए।
इन्टरनेशनल क्राइसिस ग्रुपका अमेरिका चीन सम्बन्धसम्बन्धी वरिष्ठ अनुसन्धान तथा नीतिगत सल्लाहकार अली वाइनका अनुसार, “यदि इरानलाई दीर्घकालीन रूपमा फेरि वार्ताको टेबलमा ल्याउनुपर्ने हो भने त्यसमा चीनले केही भूमिका खेल्नेछ भन्ने कुरा अमेरिकाले स्वीकार गरेको छ।”
ट्रम्प भने इरानसँग चीनको निकट सम्बन्धप्रति खासै चिन्तित देखिएका छैनन्। अमेरिकाले हालै इरानी तेल ढुवानी गरेको आरोपमा चीनस्थित एक रिफाइनरीमाथि प्रतिबन्ध लगाए पनि ट्रम्पले गत साता युद्धका क्रममा इरानलाई चीनले दिएको समर्थनलाई सामान्य रूपमा लिएका थिए।
उनले एक अमेरिकी पत्रकारसँग भने, “जे हो, त्यही हो, होइन र? हामी पनि उनीहरूविरुद्ध केही काम गर्छौँ।”
ताइवानको भविष्य
ताइवानको विषयमा ट्रम्प प्रशासनले मिश्रित संकेतहरू दिएको छ।
गत डिसेम्बरमा अमेरिकाले ताइवानसँग ११ अर्ब डलर (करिब ८ अर्ब पाउण्ड) बराबरको हतियार सम्झौता घोषणा गरेको थियो जसले चिनियाँ सरकारलाई क्रोधित बनाएको थियो। तर ट्रम्पले ताइवानको रक्षा गर्न अमेरिकाको इच्छा शक्तिलाई कम महत्व दिएका छन् जबकि चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ।
सी जिनपिङबारे बोल्दै ट्रम्पले भने, “उनी ताइवानलाई चीनकै हिस्सा मान्छन्, र उनले के गर्ने भन्ने कुरा उनकै निर्णय हो।”
उनले ताइवानले अमेरिकी सुरक्षा प्रत्याभूतिको पर्याप्त मूल्य नतिरेको पनि बताएका छन्। ट्रम्पले थपे “ताइवानले हामीलाई केही पनि दिँदैन।” गत वर्ष उनले ताइवानमाथि १५ प्रतिशत भन्सार शुल्क लगाएका थिए र सेमिकन्डक्टर उत्पादन अमेरिकाबाट चोरेको आरोप पनि लगाएका थिए।
गत साता रुबियोले ताइवान भ्रमणका क्रममा छलफलको विषय बन्ने बताएका थिए। तर मुख्य उद्देश्य यो मुद्दा दुई महाशक्तिबीच नयाँ तनावको कारण नबनोस् भन्ने रहेको उनले स्पष्ट पारे।
उनले भने, “ताइवान वा इन्डो–प्यासिफिक क्षेत्रमा कुनै अस्थिर बनाउने घटना हुन हामी चाहँदैनौँ। र यो अमेरिका तथा चीन दुवैको साझा हितमा रहेको कुरा हो।”
चीनले पनि यी वार्ताहरूमा ताइवानलाई प्राथमिकताको विषय बनाएको संकेत दिएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले गत साता मार्को रुबियोसँगको टेलिफोन वार्ताका क्रममा अमेरिका “सही निर्णय” गर्ने आशा व्यक्त गरेका थिए।
बेइजिङले ताइवान वरिपरि लगभग दैनिक रूपमा युद्धक विमान र नौसैनिक जहाज पठाएर आफ्नो सैन्य दबाब बढाउँदै आएको छ।
केही विश्लेषकहरूका अनुसार चिनियाँ अधिकारीहरूले सन् १९८२ मा सावधानीपूर्वक तय गरिएको ताइवानसम्बन्धी शब्दावली परिवर्तन गराउन प्रयास गर्न सक्छन्। हालसम्म वासिङ्टनको आधिकारिक नीति “अमेरिकाले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्दैन” भन्ने रहेको छ। अब बेइजिङले “अमेरिका ताइवानको स्वतन्त्रताको विरोध गर्छ” भन्ने अझ कडा शब्द प्रयोग गर्न दबाब दिन सक्छ भन्ने अनुमान गरिएको छ।
एशिया सोसाइटीको अमेरिका–चीन सम्बन्ध केन्द्रका वरिष्ठ फेलो जोन डेल्युरी भन्छन्, “मलाई लाग्दैन राष्ट्रपति सी त्यस्तो कुरामा सजिलै सहमत हुनेछन्। ट्रम्पले कहिलेकाहीँ भाषाको प्रयोगमा सावधानी नअपनाई ताइवानबारे कुनै अप्रत्याशित टिप्पणी गरे पनि चिनियाँहरूले त्यसलाई धेरै गम्भीरतापूर्वक लिँदैनन्, किनकि उनले एक सातापछि ट्रुथ सोसलमा पोस्ट गरेर आफ्नो भनाइ उल्ट्याउन सक्छन्।”
महत्वपूर्ण व्यापार वार्ता
सन् २०२५ को अधिकांश समय अमेरिका र चीन नयाँ व्यापार युद्धको संघारमा पुगेजस्ता देखिएका थिए, जसले विश्व अर्थतन्त्रको आधार नै हल्लाउन सक्ने सम्भावना थियो।
ट्रम्पले अमेरिकाको सबैभन्दा ठूलो व्यापार साझेदार चीनमाथि पटक–पटक भन्सार शुल्क बढाउने र घटाउने गरेका थिए। कतिपय अवस्थामा शुल्क १०० प्रतिशतभन्दा माथिसम्म पुगेको थियो।
यसको जवाफमा चीनले अमेरिकातर्फ हुने दुर्लभ खनिजको निर्यात सीमित गर्यो र अमेरिकी कृषि उत्पादन खरिद घटायो। यसले ट्रम्पलाई समर्थन गरेका महत्वपूर्ण राज्यका किसानहरूलाई प्रत्यक्ष असर पुर्यायो।
गत अक्टोबरमा दक्षिण कोरियामा ट्रम्प र सी जिनपिङबीच प्रत्यक्ष भेट भएपछि तनाव उल्लेखनीय रूपमा कम भएको छ। फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति एकल निर्णयबाट भन्सार शुल्क लगाउने अधिकार सीमित गर्ने फैसला गरेपछि ट्रम्पको अनिश्चित व्यापार नीतिमा पनि केही नियन्त्रण आएको थियो।
तर पनि बेइजिङ शिखर सम्मेलनमा ट्रम्प र सीबीच छलफलका लागि धेरै विषय बाँकी छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई अमेरिकी कृषि उत्पादनको खरिद बढाउन दबाब दिने अपेक्षा गरिएको छ। उता चीनले अमेरिकाले हालै घोषणा गरेको “अनुचित व्यापार अभ्यास” सम्बन्धी अनुसन्धान फिर्ता लिन दबाब दिने निश्चित छ, किनकि त्यस अनुसन्धानले ट्रम्पलाई फेरि चिनियाँ सामानमा उच्च भन्सार शुल्क लगाउने अधिकार दिन सक्छ।