
होमनेट साउथ एसियाले 'काठमाडौं घोषणापत्र' जारी भएको २५ वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्यो।
‘घरेलु श्रमिकहरूको २५ वर्षे ऐक्यबद्धता' शीर्षकमा आयोजित कार्यक्रममा दक्षिण एसियाभरका घरमा काम गर्ने श्रमिकहरूको अधिकार, पहिचान र सशक्तीकरणका क्षेत्रमा भएका उपलब्धिको समीक्षा गर्दै आगामी कार्यदिशाबारे छलफल गरिएको थियो।
सन् २००० मा काठमाडौंमा सम्पन्न क्षेत्रीय सम्मेलनबाट घरेलु श्रमिकहरूको पहिचान, सम्मान र संरक्षण सुनिश्चित गर्ने उद्देश्यसहित 'काठमाडौं घोषणापत्र' जारी गरिएको थियो।
कार्यक्रममा होमनेट साउथ एसियाले पछिल्लो २५ वर्षमा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ। संस्थाले हाल दक्षिण एसियाका आठ देशका ६२ सदस्य संस्थामार्फत १२ लाखभन्दा बढी घरेलु श्रमिकहरूको प्रतिनिधित्व गर्दै आएको जनाएको छ। संगठन विस्तार, नीतिगत पैरवी तथा नेतृत्व विकासमार्फत श्रमिकहरूको मुद्दालाई सार्वजनिक नीति र विकासको मूलधारमा स्थापित गर्न उल्लेखनीय सफलता हासिल भएको संस्थाको दाबी छ।
कार्यक्रममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले क्षेत्रीय ऐक्यबद्धतालाई नीतिगत प्रतिबद्धतामा मात्र सीमित नराखी व्यवहारिक कार्यान्वयनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। उनले श्रमिकको अधिकार सुनिश्चित गर्ने, सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने तथा महिला श्रमिकको नेतृत्व र उद्यमशीलता विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए।
त्यसैगरी, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयकी सचिव राधिका अर्यालले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गिग श्रमिकहरूलाई औपचारिक श्रम तथा सामाजिक सुरक्षा प्रणालीमा समेट्ने उद्देश्यसहित मन्त्रालयको कार्यक्षेत्र विस्तार गरिएको जानकारी दिइन्।
कार्यक्रमका सहभागी महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता चाँदनी जोशी लगायतले विगत २५ वर्षदेखि अघि सारिँदै आएको 'पहिचान, सम्मान, सशक्तीकरण र लगानी' को सिद्धान्तलाई निरन्तरता दिने तथा गृह-आधारित श्रमिकहरूलाई आर्थिक नीति, श्रम प्रणाली र विकास योजनामा पूर्ण रूपमा एकीकृत गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा सरकारी अधिकारी, कूटनीतिज्ञ, विकास साझेदार, ट्रेड युनियनका प्रतिनिधि, शिक्षाविद्, विभिन्न नगरपालिकाका उपमेयर, वडा अध्यक्ष, श्रमिकका नेता र दक्षिण एसियाभरिका HNSA का सम्बद्ध संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।