काठमाडौं, असार २२ :

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक तथा जनसरोकारका गम्भीर विषयमा सरकारलाई जवाफ दिन रुलिङ गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका महत्त्वपूर्ण विषयमा सरकारको स्पष्ट धारणा र आवश्यक जानकारी सदनमा प्रस्तुत गर्न निर्देशन दिएका हुन्।

सभामुखले मनसुनजन्य विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा सम्भावित बाढी, पहिरो र डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि गरिएको पूर्वतयारी तथा विपद् व्यवस्थापनका कामकारबाहीबारे पनि संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्।

रुलिङका क्रममा उनले सांसदहरूले पटक–पटक उठाउँदै आएका समसामयिक विषयप्रति सरकारले जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा जोड दिएका थिए।

उनले भने, “माननीय सदस्यहरूले उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा भएका कामकारबाहीबारे जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।”

सभामुखले मनसुनजन्य जोखिमको समय नजिकिँदै गएकाले सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी, अपनाइएका उपाय र भावी योजनाबारे पनि संसदलाई समयमै अवगत गराउनुपर्ने आवश्यकता औंल्याएका छन्।