काठमाडौं, पुस २४ :

तिब्बत केन्द्रविन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । त्यस्तै १३० जनाभन्दा बढी घाइते रहेको पनि समाचारमा उल्लेख छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएर क्षति न्यूनीकरण गर्न निर्देशन दिएका छन् । सयौंको संख्यामा सुरक्षाकर्मीहरू परिचालन भएका छन् ।

बिहान ६:५० बजे गएको ६.८ म्याग्नेच्युडको भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो । काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा मानिसहरू घरबाहिर निस्किएका थिए ।

काठमाडौंको स्‍युचाटारमा एक पुरुषले घरको छतबाट हाम फालेर घाइते भएका छन् । अन्य केही घरहरूमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ ।

थुलुङ दूधकोशी ७, देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुंगामाटोको गारो र ढुंगाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका ५, हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुंगा,माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

भूकम्पले सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा पनि क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका ५, थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिइन् ।
यो पनि...

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

तिब्बत भूकम्प : उद्धार र राहतमा हरसम्भव प्रयास गर्न चिनियाँ राष्ट्रपतिको निर्देशन

काठमाडौंमा भूकम्पको धक्का महसुस

तिब्बतसँग सिमाना जोडिएका जिल्लामा भूकम्पले क्षति पुर्‍याएको अनुमान, विवरण संकलन गरिँदै

भूकम्पपछि चीनको सिजाङ स्वायत्त क्षेत्रमा क्षतिग्रस्त घरहरूमा उद्धार हुँदै (फोटो सहित)

भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

तिब्बतमा गएको शक्तिशाली भूकम्पमा ५३ जनाको मृत्यु

भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्री ओलीको आग्रह