
एचपीभी अभियान
देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान मंगलबारबाट सुरु भएको छ । देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गरिएको हो । यो अभियानमा विद्यालय जाने ६ देखि कक्षा १० मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरी सहभागी हुनेछन् ।
८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुने सङ्ख्या न्यून आय भएका र मध्यम आय भएका देशमा देखिएको युनिसेफको तत्थ्यांकले देखाएको छ । विश्वमा हरेक वर्ष तीन लाख ११ हजारको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गर्छ । यो सङ्ख्या सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ ।
नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । अभियानको प्रधानमन्त्री केपी ओलीले आजै शुभारम्भ गरेका हुन् ।
वेलकम राजकुमार दम्पती
बेलायती राजकुमार दम्पती नेपाल भ्रमणमा आएका छन् । करिब एक साताको निजी भ्रमणका लागि उनीहरु मंगलबार नेपाल आएका हुन् । राजकुमार एडवार्ड र उनकी पत्नी एडिनबर्गकी डचेस सोफी एकैदिन नेपाल भ्रमणमा आए पनि उनीहरुको आउने समय र स्थान भने छुट्टाछुट्टै थियो ।
राजकुमार एडवार्ड भारत हुँदै आएका हुन् । राजकुमारी सोफिया भने लन्डनबाट सिधै काठमाडौं आइपुगेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायतले स्वागत गरेका थिए । आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग बेलायती राजकुमार दम्पतीले शिष्टाचार भेट गरेका छन् ।
रविमाथि ठगीको बात्
सरकारी वकिल कार्यालयले रवि लामिछानेसहित १५ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।
चितवन जिल्ला अदालतमा सोमबारै मुद्दा दर्ताको तयारी थियो तर सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण आज (मंगलबार) दर्ता गरिएको हो । रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
उच्चवृद्धिमा लाग्यो ब्रेक
अघिल्लो दुई दिन लगातार बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने घटेको छ । नेप्से आज १४ दशमलव शून्य आठ अंकले घटेर २७ सय १५ दशमलव ९१ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४९ अंकले घटेर चार सय ५७ दशमलव १२ अंकमा झरेको छ ।
नेप्सेमा आज ३१५ कम्पनीको ९० हजार दुई सय दुई पटकको कारोबारमा एक करोड ६९ लाख १७ हजार आठ सय ३५ कित्ता सेयर खरिद-बिक्री भएको छ। जसअनुसार कुल कारोबार रकम आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार सात सय ७५ रुपैयाँ पुगेको छ ।
उपाधि होडबाट नेपाल बाहिरियो
नेपालमा जारी नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित महिला टी-ट्वेन्टी आई शृंखलाको चौथो खेलमा पनि नेपाल पराजित भएको छ । थाइल्यान्डसँग नेपाल ५ रनले पराजित भएसँगै उपाधि होडबाट पनि बाहिरिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । नेपालका लागि कविता जोशीले सर्वाधिक २४ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।
थाइल्यान्डका लागि थिपाथ्चा पुथावोङले ४ ओभरमा १० रन दिएर ४ विकेट लिइन् । फनिता मायाले २ विकेट लिइन् ।
सबै टोलीले एक-अर्कासँग ३-३ खेल खेल्ने शृंखलामा थाइल्यान्डको भने यो लगातार चौथो जित हो । योसँगै थाइल्यान्ड उपाधि होडमा बलियो देखिएको छ ।
यो पनि…
पाठेघरको मुखको क्यान्सर रोकथाम गर्नु हाम्रो पहिलो आवश्यकता : राष्ट्रपति पौडेल
एचपीभी खोप अभियानमा सरिक हुन प्रधानमन्त्रीको आह्वान
एचपीभी खोप लगाऔं, पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरुलाई सुरक्षित राखौँ : प्रिति राई
प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ
निरोगी नेपाल बनाउन व्यापक प्रयासहरु गर्नेछौं : प्रधानमन्त्री ओली
पाठेघरको क्यान्सर न्यूनीकरण गर्न सबैको सहकार्य जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता