
माघे सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ । यस समयमा काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउनमा व्यस्त छन् ।
काठमाडौं उपत्यकाको उत्तरी भेगको मध्य भागमा रहेको प्राचीन सहर टोखा नेवार बस्ती हो । ‘टोखा’ नामको बारेमा एउटा किंवदन्ती छ । वर्षौं पहिले त्यहाँ धेरै फाँटहरु थिए जहाँ उखु खेती गरिन्थ्यो । नेपाल भाषामा ‘टु’को अर्थ उखु र ‘ख्यः’को अर्थ फाँट भन्ने बुझिन्छ । पहिलेपहिले गाउँमा उखु धेरै हुने भएर ‘टुख्यः’ भनिन्थ्यो । पछि अपभ्रंश हुँदै टोखा भन्न थालियो ।
टोखामा सामूहिक उखु खेती गरेर त्यहीँको उखुले परम्परागत रुपमा चाकु बनाउने गरिन्थ्यो । तर अहिले गुठीको जग्गा बिक्री हुँदै मासिएपछि टोखामा अन्यत्रबाटै उखु ल्याएर चाकुको व्यावसायिक उत्पादन गरिँदै आएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै टोखावासीलाई चाकु बनाउन भ्याइनभ्याई छ । सुरुसुरुमा उपत्यकामा मात्र चाकुको माग हुने भए पनि अहिले देशभरबाट माग आउन थालेको चाकु व्यवसायीहरु बताउँछन् ।
चाकु खाँदा शरीरमा चिसो नपस्ने र रोगसँग लड्नसक्ने क्षमता विकास हुने विश्वास गरिन्छ । टोखामा चाकु बनाउन व्यवसायीहरु त व्यस्त छन् नै उपत्यका र उपत्यकाबाहिरबाट चाकु किन्न आउने व्यापारीको समेत बजारमा चहलपहल बढेको छ । टोखा बजारमा चाकु उत्पादन गर्ने व्यवसायीहरुका लागि समाज नै गठन गरिएको छ ।
मागअनुसारको चाकु उत्पादन गर्दै आइरहेको टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ बताउँछन् । उनले बजारमा चाकुको मागअनुसार उत्पादन गर्न समस्या भइरहेको जनाए । बजारमा सक्खरको मूल्य बोरामा दुई/तीन सय रुपैयाँले बढे पनि चाकु भने पुरानै भाउमा बेच्नुपरेको उनको भनाइ छ ।
‘हामी चाकु सँगसँगै माघे संक्रान्तिका लागि चाहिने अन्य परिकार पनि बनाइरहेका छौं । जस्तो परिकारको अर्डर आयो त्यसैअनुसार बनाइरहेका छौं । यःमरी पूर्णिमामा विशेष गरी मसलाबिनाको चाकु नै खाने परम्परा छ । कोही मसलेदार चाकुहरु खान आउनुहुन्छ,’ उनले भने, ‘अहिले सक्खरको मूल्य बोरामा दुई,तीन सय मूल्यले बढेको छ । तर हामीले चाकु पुरानै मूल्यमा दिइरहेका छौं ।’
टोखामा चाकुको भाउ प्रतिकिलो १०० रुपैयाँदेखि १४० रुपैयाँसम्म रहेको उपाध्यक्ष श्रेष्ठले जनाए । आफूहरुले चाकुको मूल्य तोक्न बैठक नै आह्वान गरे पनि बिचौलियाका कारण समस्या भएको उनको दुखेसो छ । बिचौलियाहरुलाई चाकु धेरै दिन राख्न नमिल्ने भएका कारण सस्तोमा दिन्छन् भन्ने सोच विकास भएको कारण आफूहरुले उचित मूल्य पाउन नसेकेको श्रेष्ठको गुनासो छ ।
‘हामीले टोखा परम्परागत चाकु संरक्षण समाजबाट मूल्य तोक्ने भनेर मिटिङ बसेका थियौं । तर बिचौलियाहरुले गर्दा हामीलाई नै समस्या पार्न खोज्यो । हामीसँगै ललितपुर र भक्तपुरमा पनि मंसिरदेखि नै चाकु बनाइन्छ । कामदार पनि धेरै राख्नुहुन्छ । चाकुलाई धेरै समय स्टक राख्न नहुने भएका हुनाले अहिले सस्तो दिइहाल्यो भनेपछि पनि सस्तो दिइहाल्छ भनेर बिचौलियाहरुले रेट बिगार्ने काम भयो,’ श्रेष्ठले भने, ‘जति चाकु बनाउन मिहिनेत परिश्रम लाग्छ त्योअनुसारको नाफा छैन । हामीले घरसम्मै आउने ग्राहकलाई प्रतिकिलो चाकु १३५ रुपैयाँमा दिइरहेका छौं । तर त्यही चाकु बजारमा गइसकेपछि २०० रुपैयाँभन्दा माथि जाने सम्भावना छ ।’
तेस्रो पुस्ताले धानेको चाकु व्यवसाय
टोखावासीले चाकु बनाउन थालेको वर्षौं भयो । अहिले टोखाको तेस्रो पुस्ताले चाकु व्यवसाय धानिरहेको छ । सुरुमा उखु उत्पादन धेरै हुन्थे । समयक्रमसँगै उखु उत्पादन हराउँदै गए पनि टोखाका बासिन्दाले चाकु उत्पादन गर्ने पुर्खाको परम्परा भने छाडेनन् । अहिले चाकुका लागि आवश्यक कच्चा पदार्थ तराई क्षेत्रबाट ल्याइने गरेको छ ।
टोखा चाकु प्रोडक्सनका सञ्चालक हंसराज श्रेष्ठले चाकु व्यवसाय सुरु तीनपुस्ता भएको सम्झिँदै भने, ‘हामीले चाकु व्यवसाय सुरु गरेको तीनपुस्ता भएको छ । बाजेले बनायो, बुबाले बनायो अहिले म तेस्रो पुस्तामा काम गरिरहेको छु । चाकुको व्यापार सिजनल व्यापार हो । सिजनमा चकाचक त भइहाल्छ नै । हामीलाई सिजनमा चाकुको माग पूर्ति गर्न धेरै नै गाह्रो छ । काम गर्न मेनपावर पुगेको हुँदैन ।’
चाकु व्यवसायको पुस्तान्तरण हुँदै जाने उनको विश्वास छ । माघे संक्रान्ति नजिकिएसँगै चाकु बनाउन बिहान ४ देखि राति ११ बजेसम्म खट्ने गरेको उनले सुनाए । चाकुले चिसो हटाउन सहयोग गर्ने र सुत्केरी आमाका लागि समेत फाइदा हुने उनी बताउँछन् ।
चाकुलाई नेपाली चकलेटका रुपमा चिनिने भएकाले यसको ब्रान्डिङ गर्नुपर्ने आवश्यकता रहेको व्यवसायीहरु बताउँछन् । चाकु नेपाली चकलेटका रुपमा काठमाडौं उपत्याकामा मात्र नभई उपत्यका बाहिरका सहरहरुमा समेत माग बढेको र अमेरिका, बेलायतलगायत देशहरुबाट समेत माग आउने भएकोले यसको ब्रान्डिङ गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ ।
चाकुका लागि आवश्यक पर्ने सक्खर बाहिरबाट मगाउनुपर्ने बाध्यता रहेकाले यसको गुणस्तरलाई नापेर ब्रान्डिङ गर्न तीनै तहको सरकारले समन्वयकारी भूमिका खेल्न आवश्यक रहेको व्यवसायीहरु बताउँछन् ।
‘चाकु व्यवसायीलाई सरकारले सहयोग गरोस्’
चाकुको माग बढेर धान्न नसक्ने स्थिति पुगे पनि अहिलेसम्म सरकारले भने केही सहयोग नगरेको व्यवसायहीहरुको गुनासो छ । आफ्नो तीनपुस्ताले चाकुको व्यवसाय गरेरै जीवन धाने पनि सरकारले प्रोत्साहन नगरेको टोखा चाकु प्रोडक्सनका सञ्चलाक हंसराज श्रेष्ठको दुखेसो छ ।
सरकारले सहुलियतमा कच्चापदार्थ र आवश्यक सामानहरु उपलब्ध नगराएको कारण समस्या भोग्नुपरेको उनको भनाइ छ । टोखाको चाकुको विदेशमा समेत माग बढ्दै गइरहे पनि सरकारले विदेश पठाउन स्वीकृति नदिँदा बिचौलियाकै भर पर्नुपरेको उनको भनाइ छ । सञ्चालक श्रेष्ठले चाकुको सिजनमा मात्र सरकार सक्रिय हुने र सिजन सकिएसँगै निष्क्रिय हुने प्रवृत्तिले चाकु व्यवसायीहरु निराश हुनुपरेको बताए ।
‘पहिले टोखामै उखु उत्पादन गरिन्थ्यो । यहाँ नै त्यो उखु पकाउँथ्यो । अहिले उखु खेती त छैन । हामीले तराईबाट सक्खर ल्याएर बनाउने गर्छौं । हाम्रो बजार भाउ धेरै भइसक्यो एकनासकै छ । १०० देखि १४० सम्म बिक्री गर्ने गरेका छौं । अहिलेसम्म सरकारी सहयोग छैन,’ उनले भने, ‘ स्थानीय सरकारले पनि हामीलाई त्यति सहयोग गरेको छैन । सरकारले हाम्रा लागि आवश्यक पर्ने सामानहरु सहुलियतमा व्यवस्थापन गरिदिनुपर्यो । हामीलाई बजारभाउ राम्रो दिनुपर्यो । हामीले टोखाको चाकु विदेश पठाउन पनि सरकारले हामीलाई स्वीकृति दिनुपर्यो । सिजनमा मात्रै प्रक्रिया सुरु हुन्छ । सिजन सकिएपछि पनि काम अघि बढ्दैन ।’
नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजकिरियाका बेलामा पनि चाकु खाने प्रचलन रही आएको छ ।
यो पनि…
